काठमाडौं– नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानले आइपिएल क्रिकेटमा लगातार दोस्रो खेलमा पनि विकेट लिएका छन्।
दिल्ली क्यापिटल्सका बलर सन्दीपले सोमबार भएको खेलमा किंग्स ११ पञ्जाव विरुद्ध २ विकेट लिएका हुन्। पहिले ब्याटिङ गरेको पन्जावविरुद्ध सन्दीपले ४ ओभरमा २ विकेट लिएर २७ रन खर्चिए। सन्दीपले ८ बल डट फ्याँक्दा २ छक्का खाए।
चौथो ओभरमा मौका पाएका सन्दीपले आफ्नो पहिलो ओभरमै पञ्जावका साम कुरानलाई २० रनमा एलबिडब्लूको धरापमा पारेका हुन्। चौथो बलमा छक्का बेहोरेको सन्दीपले पाँचौ बलमा विकेट लिएका थिए। यो ओभरमा सन्दीपले १० रन दिए।
सातौं ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गरेका सन्दीपले ४ रन मात्र खर्चिएका छन्। यो ओभरमा सन्दीपले कुनै बाउन्ड्री खर्चिएनन्।
१२औं ओभरमा आफ्नो तेस्रो ओभर लिएर आएका सन्दीपले यो ओभरमा १० रन दिए। यो ओभरमा सन्दीपलाई पञ्जावका डेभिड मिल्नारले छक्का हिर्काएका थिए।
सन्दीपले १४ औं ओभरमा आफ्नो चौथो ओभर गरे। यो ओभरमा सन्दीपले १ विकेट लिए भने ४ रन मात्र दिए। सन्दीपले पन्जावका सर्फराज खानलाई ३९ रनमा आउट गरे विकेटकिपर रिशव पन्तबाट क्याच गराए। सन्दीपले सर्फराज र मिल्लरको ६२ रनको साझेदारी तोडेका थिए।
सुरुवाती २ खेलमा मौका नपाएका सन्दीपले कोलकाता नाइटराइडर्सविरुद्धको अघिल्लो खेलमा मौका पाएका थिए। सो खेलमा उनले १ विकेट र १ रनआउट गरकेा थिए।
यसअघि दिल्लीले सन्दीपलाई सुरुवाती दुई खेलमा मौका दिएको थिएन। उनले मुम्बई इन्डियन्स चेन्नई सुपरकिंग्सविरुद्धको खेलमा पनि पहिलो रोजाइमा स्थान पक्का गरेका थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।