काठमाडौँ- मनाङ मस्याङ्दी क्लबले एशियाली फुटबल महासङ्घ (एएफसी) कप का लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
मनाङले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जनाएको हो। क्लबका अध्यक्ष छिमि गुरुङले तयारी सकिएको बताए। साथै उनले एएफसीले अवे खेलका लागि एक खेलको ४० हजार दिने बताए। होम खेलमा भने मनाङले आफ्ने खर्चमा खेल्नु पर्नेछ। तीन अवे खेल गरी मनाङले १ लाख २० हजार डलर पाउनेछ।
मनाङले बुधबार पहिलो खेलमा बङ्गलादेशी लिग च्याम्पियन अबहानी लिमिटेडसँग ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल्नेछ। मनाङको समूहमा भारतको मिनेरभा मञ्जाब र चेन्नई एफसी पनि छ। तीनै टिमसँग मनाङले ‘होम एण्ड अवे’ का आधारमा खेल्नेछ। नेपालले दोस्रो खेल वैशाख ४ गते चेन्नइयनसँग दिल्लीमा खेल्नेछ। यस्तै पन्जावसँग वैशाख १४ गते एन्फा कम्प्लेक्समा हुनेछ। त्यसपछि दोस्रो लेगका खेल हुनेछन्।
मनाङले लिग च्याम्पियनको रुपमा एएफसी कपमा स्थान पक्का गरेको हो। मनाङले पहिलो पटक एएफसी कप खेल्न लागेको हो। मनाङले कपका लागि छिरिङ लोप्साङलाई प्रशिक्षकको रुपमा नियुक्त गरिसकेको छ।
मनाङ २१ सदस्यीय खेलाडीमा गोलकिपरमा विशाल श्रेष्ठ, अशोक बराल र दीप कार्की, डिफेन्डरमा विराज महर्जन, कमल श्रेष्ठ, सुरज विश्वकर्मा, मोहमद सफी, प्रवेश दनुवार, देवेन्द्र तामाङ, छिरिङ गुरुङ र अजिज साहिद छन् । मिडफिल्डरमा सुजल श्रेष्ठ, विशाल राई, हेमन गुरुङ, अन्जन विष्ट, प्रकाश बुढाथोकी, अभिषेक रिजाल र शिव श्रेष्ठ र फरवार्डमा अजिज ओलावले, विमल राना र एडिलाजा सोमिडे छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।