काठमाडौं- कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएनको मतगणना सुरु भएको छ।
२५औं केन्द्रीय कार्यसमितिका लागि देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन भएको थियो। नयाँ कार्य समितिका लागि ६३ जनाको उम्मेदवारी परेको थियो।
बारको निर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिस्ट निकट प्रगतिशील, पेसागत तथा समावेशी समूह र कांग्रेस निकट बृहत् लोकतान्त्रिक समूहबीच प्रतिस्पर्धा हुने भएको छ।
नयाँ नेतृत्वको लागि प्रगतिशील समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र लोकतान्त्रिक समूहबाट सुनीलकुमार पोखरेल उम्मेदवार बनेका छन्।
तीन वर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक/एक गरी ८ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।
उपत्यकका बाहिरका मतपत्र काठमाडौं ल्याएसँगै मतगणना सुरु भएको हो। मतगणना बारको कार्यालय रामशाहपथमा भइरहेको छ। प्रारम्भिक मतगणना अनुसार प्रगतिशिल समूहबाट अध्यक्षका प्रत्यासी बनेका श्रेष्ठले अग्रता लिएका छन्।
देशभर बारका १० हजार ३१३ मतदाता थिए। मतदान उपत्यकामा ६० र उपत्यका बाहिर ८० प्रतिशत बढि भएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।