काठमाडौं– एएफसी यू–१९ च्याम्पियनसिप अन्तर्गत समूह 'ए' को छनोट प्रतियोगिताको तेस्रो खेलमा नेपालले युएईसँग आज दिउँसो प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय अनुसार ४:४५ मा किर्गिस्तानको बिस्केकस्थित डोलेन ओमुजाकोभ रंगशालामा हुनेछ।
समूहमा एक जित निकालेको युएई शीर्ष स्थानमा छ। लगातार २ खेलमा पराजित भइसकेकाले एएफसी च्याम्पियसिपमा छनोट हुने नेपालको सम्भावना लगभग सकिएको छ।
यसअघि नेपाल दोस्रो खेलमा बहराइनसँग ४–० गोलले पराजित भएको थियो। मंगलबार भएको पहिलो खेलमा नेपाल घरेलु टिम किर्गिस्तानसँग २–० ले पराजित भएको थियो।
एएफसी यू–१९ च्याम्पियनसिपमा छनोट समूह 'ए' मा नेपालसहित युएई, ओमान, बहराइन र आयोजक किर्गिस्तान गरी पाँच टिम छन् । समूहमा शीर्ष स्थान हात पार्ने टिम एक वर्षपछि इन्डोनेसियामा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा छनोट हुनेछ । दोस्रो स्थान हात पार्ने टिमको पनि छनोट हुने सम्भावना हुनेछ।
नेपालले चौथो खेल कात्तिक २२ मा ओमानसँग खेल्नेछ। सन् २०१८ को अक्टोबरमा इन्डोनेसियामा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा १६ टिमबीच प्रतिस्पर्धा हुनेछ। जहाँ १० वटा समूहको शीर्ष १० टिम तथा दोस्रो स्थान हात पारेका ५ टिम छानिनेछन्। इन्डोनेसिया भने आयोजकको रुपमा छनोट भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।