काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले परदेशमा अलपत्र परेर कोही पनि नेपाली श्रमिकले मर्नु नपर्ने बताएका छन्। सोमबार मन्त्रालयमा श्रमिकहरुको गुनासो सुनुवाइका लागि कलसेन्टरको उद्घाटन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।
कार्यक्रममा बोल्दै मन्त्री विष्टले भने, ‘देशमै पनि श्रमिकहरुमा विभिन्न खालका समस्या छन् तर जस्तासुकै समस्या परे पनि ती समस्या हामीसम्म आइपुग्न सकेका छैनन्। परदेशमा कति श्रमिक महिनौँदेखि समस्यामा परे पनि समस्या सुनाउने माध्यमको पहुँच नहुँदा कष्टकर जीवन बिताउन बाध्य छन्, अब यस्ता समस्यामा परेका श्रमिकहरुलाई कलसेन्टरले सहजता प्रदान गर्नेछ।’
यस्ता जटिल समस्यामा परेका श्रमिकले आफ्ना समस्या कलसेन्टरमार्फत राखेपछि कलसेन्टरकै माध्यमबाट गुनासो सुनुवाइका लागि पहल गरिने मन्त्री विष्टले बताए।
कलसेन्टरमार्फत श्रमिकहरुले राखेका जटिलसमस्या सुनुवाइपछि सहजीकरणका लागि मन्त्रालय आफैँले पहल गर्ने र दैनिक जीवनमा आइपर्ने समस्या सुनुवाइ तथा सम्बोधनका लागि बोर्ड सचिवालयले पहल गर्ने मन्त्री विष्टले बताए।
कलसेन्टरको सञ्चालनबाट मन्त्रालय र यस अन्तर्गतका निकायहरुको कार्यक्षेत्रसँग सम्बन्धित आधिकारिक सूचना बुझेर तत्काल प्रवाह हुने तथा सेवाग्राहीको समस्याको शीघ्र सम्बोधन हुने मन्त्री विष्टले विश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।