पेरिस (एजेन्सी)– मार्सेइ क्लबले प्याट्रिस इभ्रालाई निलम्बन गरेको छ। विहिबार राती भिटोरिया गुइमारेस विरुद्धको खेल अगाडि वार्म–अप गर्दै गर्दा ३६ वर्षीय डिफेन्डरले आफ्नै क्लबका समर्थकलाई लात्तले टाउकोमा हिर्काएका थिए।
यस बापत उनलाई युरोपा लिगअन्तर्गतको खेल अगावै रातो कार्ड देखाइएको थियो। मार्सेइले यसलाई माफ गर्न नसकिने व्यवहार भन्दै दण्डित गरेको छ।
युरोप फुटबलको आधिकारीक संस्था युएफाले पनि फ्रेन्च फुल–ब्याकले शुक्रबार दण्डनीय अपराध भन्दै कम्तिमा एक खेल प्रतिबन्ध लगाउने बताएको छ।
फ्रेन्च पत्रिका ला इक्युपले मार्सेइका समर्थकले आधा घन्टादेखि इभ्रालाई जिस्काइरहेको कारण यो घटना हुन लागेको बताएको छ। इभ्राले सुरुमै रातो कार्ड पाएपछि मार्सेइ १–० ले पराजित भयो।
इभ्रा शुक्रबारको खेलमा अतिरिक्त खेलाडीको सुचीमा थिए। त्यसैले मार्सेइले ११ खेलाडीबाटै खेलको सुरुवात गरेको थियो। ८ वर्ष म्यानचेस्टर युनाइटेडबाट खेलिसकेका इभ्राको विषयमा पूर्व सहकर्मी मिकाइल सिल्भेस्ट्रेले प्रतिक्रिया दिँदै भनेका छन्, मार्सेइमा उनी लामो समय बस्ने छैनन्। तर, यही घटनाले उनको फुटबल जीवन भने समाप्त हुने छैन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।