जुद्धशमशेर राणा प्रधानमन्त्री हुँदा १९९५ सालमा पाटनको टुँडिखेल (हाल नेपाली सेनाको राजदल) मा पहिलो अनधिकृत लिग फुटबल प्रतियोगिताको आयोजना हुँदा ठूलै घटना भएको थियो। त्यतिबेला लिगमा सहभागी ठमेल र जावलाखेल टिमका खेलाडीबीच मैदानमै हानाहान समेत भयो।
जावलाखेलका हर्ताकर्ता थिए, नरशमशेर राणा। उनको पहिलेदेखिको बानी थियो, जसरी पनि खेल जित्नैपर्ने।
खेल सञ्चालन भइरहेकै अवस्थामा झगडा परेछ, ठमेलका गजबमानसँग।
गजबमान त्यतिबेला ब्रिटिस–भारतीय दूतावासमा काम गर्थे। दूतावास नजिकै भएको हुनाले ठमेलले लिगमा भाग लिन दूतावासका केही खेलाडीलाई टोलीमा समावेश गराएको थियो।
ब्रिटिश–भारतीय दूतावासमा काम गर्ने हुनाले गजबमानले तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरका जेठा नाति भए पनि नरशमशेरलाई टेर्ने कुरा थिएन। बल गुडाउँदै आएका नरको खुट्टामा नमज्जाले बजाइदिएछन्।
त्यसपछि के चाहियो! कुरा पुगेछ, सोझै प्रधानमन्त्री जुद्धशमशेरकहाँ। त्यतिबेला शासनको बागडोर सम्हालेका राणाहरुको भनाइ थियो, ‘राणाहरुले जनतासँग झगडा गर्ने होइन। यसले आफ्नै इज्जत घटाउँछ।’
त्यसपछि जुद्धलाई के चाहियो? उनले सिधै आदेश दिएछन्, ‘फुटबल प्रतियोगिता रोक्नू।’
यो घटनापछि फुटबलमा सक्रिय त्यतिबेलाका खेलाडी मात्र होइन, नरशमशेर पनि दुःखी भए। यसपछि प्रतियोगिता नै रोकियो।
६ वर्षपछि नरशमशेर पुनः लिग सञ्चालन गर्न सफल भए। दोस्रोपल्ट लिग चलाउउने अभियानमा सबैभन्दा बढी सक्रिय थिए, जुद्धकै दुई छोरा मीन र रविशमशेमर राणा। यी दुवै फुटबल भनेपछि हुरुक्क हुन्थे।
फेरि नरले दोस्रो विश्वयुद्ध चलिरहेको बेला २००१ सालमा दुवै काका, उमेरमा आफूभन्दा कान्छो मीन र रविलाई कोलकाता पठाएर फुटबलको ट्रेनिङ गर्न लगाएका थिए।
उनीहरुकै अथक प्रयासपछि २००१ सालमा जुद्धले लिग सञ्चालन गर्न अनुमति त दिए तर पाटनमा नभएर सिंहदरबारभित्रै।
२००१ सालमा दोस्रोपल्ट अनधिकृत लिग फुटबल आयोजना हुँदा सुरुमा खेल्ने टोलीको अत्तोपत्तो थिएन। तर पछि नर लगायत त्यतिबेला फुटबलमा सक्रिय सबैले टोली बनाए। डिल्लीबजारको महावीर क्लब पहिलेदेखि नै सक्रिय थियो भने ठमेल र जावलाखेलले पनि टिम तयार पारे।
लिग आयोजना हुने भएपछि योङ फुटबल संघ (वाइएफए), सिंहदरबार क्लब, सिंह महल टिम, इन्स्टिच्युट–११ र गुर्खा–११ पहिलोपल्ट अस्तित्वमा देखियो।
पहिले जावालाखेल र डिल्लीबजार टिमको हर्ताकर्ता भए पनि नरले त्यतिबेला आफ्नो सक्रियतामा गुर्खा–११ टिम गठन गरे। उनले डिल्लीबजार र न्युरोड वरिपरिका राम्रा खेलाडी छानेर बलियो टोली बनाएका थिए। यस्तै सिंहदरबार क्लब मीन र रविको अगुवाइमा स्थापना भएको थियो। यो क्लबमा इन्द्रशमशेर, लोकविक्रम शाह, सुरेन्द्रशमशेर जस्ता दिग्गज खेलाडी समावेश थिए।

२००३ साल अगाडिकाे एनअारटी टाेली।
यस्तै, ठमेललाई सम्राज्यशमशेर राणाले तयार पारेका थिए। सिंह महल टिममा अर्जुनशमशेर, पूर्व आर्मी चिफ प्यारजंग थापाका पिता तेजजंग थापाजस्ता खेलाडीको संलग्नता थियो।
वाइएफए टोलीमा हिमालयशमशेर राणा, मणिराज उपाध्याय, शिवविक्रम राणा, मदन (बेबी अस्टिन), रामराजध्वज जोशी, ध्रुवराजध्वज जोशी, बद्री भण्डारी, माणिक, पूर्णे, वटुक, शशिविक्रम, गुणशमशेर थापा लगायतका खेलाडी सहभागी थिए।
२००१ सालको अनधिकृत लिगको उपाधि भने नरको गुर्खा–११ ले नै जित्यो। कडा प्रयासपछि आफ्नो टोलीले जितेको उपलक्ष्यमा नरले ठूलै भोज आयोजना गरेका थिए।
‘नरशमशेरलाई मैदानमा उत्रिएपछि जित्नैपर्ने। उनी आफ्नो टोली तयार गर्दा पनि राम्रो खेलाडी खोजी गर्थे,’ विद्या व्यायामका पूर्वखेलाडी दिलेन्द्रवीर पाण्डे ७२ वर्ष अगाडिको कुरा सम्झन्छन्।
तर यो प्रतियोगितामा झगडा हुन पाएन। कारण यसपालि सबै खेल सिंहदरबारभित्रै आयोजना भयो। त्यति बेला खेल हेर्न तत्कालीन राजा त्रिभुवन पनि सिंहदरबार पुग्ने गर्थे।
खेल सञ्चालन भएको बेला सर्वसाधारणका लागि डेढ घन्टा सिंहदरबारको गेट खुला गर्ने गरिन्थ्यो। त्यति बेला प्रत्येक खेल एक घन्टाको हुन्थ्यो। सबै खेलाडीले खाली खुट्टै लिग खेलेका थिए।
‘सबैसँग जुत्ता हुने कुरा भएन। त्यति बेला जुत्ता लगाएर खेल्नुपर्छ भन्ने नै थिएन,’ राष्ट्रिय बैकका पूर्व गभर्नर तथा वाइएएफ क्लब जन्माउन प्रमुख भूमिका निर्वाह गरेका हिमालयशमशेर राणा भन्छन्।
यो लिग सम्पन्न भएपछि हिमालय अध्ययनका लागि मुम्बई लागेका थिए। त्यतिबेलाको फुटबलको ब्लाडरमा हावा भरेर बाहिरबाट छालाले बेरेर तुना कस्नुपर्थ्यो।
लिगमा नेपालका वरिष्ठ कलाकार नीर शाहका काका महेन्द्रविक्रम शाहले रेफ्रीको भूमिका निर्वाह गरेका थिए। महेन्द्रले कोलकातामै अध्ययनरत रहँदा फुटबलसम्बन्धी ज्ञान हासिल गरेका थिए।
२००१ सालपछि पनि पुनः एकपल्ट सिंहदरबारभित्रै अनधिकृत लिग सञ्चालन भएको थियो। २००४ सालमा दोस्रो अनधिकृत लिग फुटबल आयोजना हुँदा त्यसको विजेता पनि नरशमशेरकै टिम थियो। तर, त्यति बेला नरको टिमको नाम थियो, नरेश–११।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।