काठमाडौं– चार वर्षपछि गर्ने तयारी गरिएको 'ए' डिभिजन लिग तेस्रो पटक सर्ने निश्चित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत साउन अन्तिम साता मंसिर १४ गते 'ए' डिभिजन लिग गर्ने निर्णय गरेको थियो।
त्यसअघि सुरुमा बैशाख र त्यसपछि भदौमा गर्ने तय गरिएको लिग सारेको एन्फाले यस पटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई कारण देखाउँदै सारेको हो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आगामी मंसिर १० र २१ गते निर्वाचन हुँदैछ।
एन्फाका अध्यक्ष नरेन्द्रलाल श्रेष्ठले निर्वाचनका कारण लिग स्थगित हुने जानकारी नेपाल लाइभलाई दिए।
'देश निर्वाचनमा होमिएको अवस्थामा तोकिएको मितिमा लिग हुन सक्दैन, सुरक्षा तथा देशको प्राथमिकताले गर्दा हामी लिग सार्न बाध्य छौं', अध्यक्ष श्रेष्ठले भने । यसअघि निर्वाचन एक चरणमा मात्र गर्ने भनिएकाले एन्फाले मंसिर दोस्रो सातादेखि लिग गर्ने निर्णय गरेको उनले बताए।
अध्यक्ष श्रेष्ठले पुस दोस्रो सातादेखि लिग गर्ने तयारी गरिरहेको समेत जानकारी दिए।
'हामी आगामी साता क्लबहरुसँग बैठक राख्छौं । क्लबहरुलाई जानकारी दिएर पुसदेखि लिग सञ्चालन गर्ने तयारीमा छौं', उनले भने।
श्रेष्ठले पुसमा भने जस्तोसुकै परिस्थितिमा पनि लिग गरिछाड्ने बताए । 'एएफसीको क्लब लाइसेन्स तथा अन्य प्राविधिक कारणले हामी जसरी पनि लिग गराउनैपर्छ', श्रेष्ठले बताए । एएफसीले सन् २०१८ देखि आफ्ना सदस्य राष्ट्रलाई अनिवार्य रुपमा क्लब लाइसेन्स प्रणाली लागू गराउँदै छ । त्यसका लागि लिग आयोजना गर्नु बाध्यकारी मानिन्छ।
यसअघि एन्फाले सुरुमा बैशाख दोस्रो सातादेखि लिग गर्ने तयारी गरेकोमा थ्री स्टार क्लबसँगको विवाद र स्थानीय निर्वाचनका कारण लिग सरेको थियो । लगत्तै थ्री स्टारसँगको विवाद मिलेपछि एन्फाले भदौमा लिग गर्ने तयारी थालेको थियो । तर, साउन अन्तिम साता बसेको एन्फाको बैठकले एकाएक मंसिरमा लिग गर्ने निर्णय गरेको थियो।
एन्फाले विगत २ वर्षदेखि लिग गराउन सकेको छैन । एन्फाले पछिल्लो पटक ०७२ मा राष्ट्रिय लिग आयोजना गरेको थियो । ए डिभिजन लिग भने ०७० सालदेखि हुन सकेको छैन।
पुसमा हुने भनिएको लिगमा १६ टिमबीच प्रतिस्पर्धा हुने अध्यक्ष श्रेष्ठले बताए । १६ टोलीबीच होम एन्ड अवेका आधारमा प्रतिस्पर्धा हुनेछ । यसअघि १२ टोलीबीच लिग गर्ने भनिए पनि पछि ४ टोली थप गरिएको थियो । एन्फाले गत भदौमा उपत्यका बाहिरका चार टोलीलाई लिगमा समेट्ने निर्णय गरेको थियो।
एन्फाको नयाँ नेतृत्वका लागि आगामी माघ ११ मा निर्वाचन हुने भएकाले त्यसअघि लिग गर्न श्रेष्ठले चाहेका छन् । एन्फाले निर्वाचन पनि दुई पटक सारिसकेको छ । असोजमा हुनुपर्ने निर्वाचन पुस १७ गतेका लागि तोकिएको थियो।
ए डिभिजन लिगमा भाग लिने क्लबहरु
थ्रीस्टार, फ्रेन्ड्स, नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरी, मनाङ मर्स्याङ्दी, मच्छिन्द्र, संकटा, हिमालयन शेर्पा, सरस्वती, ब्रिगेड ब्वाइज, जावलाखेल युथ क्लब।
उपत्यका बाहिरका टोली
झापा ११, मोरङ एफसी, रुपन्देही, सुदूरपश्चिम।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।