काठमाडौं– बारा र पर्सा जिल्लामा भएको विनाशकारी क्षतिप्रति नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुःख व्यक्त गर्दै राहतका लागि नेपाल सरकारसँग माग गरेका छन्।
आइतबार राति अचानक आएको हावाहुरीबाट बारा र पर्सामा २७ जना सर्वसाधारणले ज्यान गुमाउनुका साथै चार सयभन्दा धेरै घाइते भएका छन्।
मृत्यु हुनेको संख्या बढ्न सक्ने स्थानीय प्रहरीको भनाइ छ। कांग्रेस नेता पौडेलले आइतबार बिहान सन्देश दिँदै बारा र पर्सा जिल्लामा भएको मानवीय क्षतिबाट नेपाली कांग्रेस र आफू निकै मर्माहत भएको बताएका छन्।
‘यो प्रकृतिक विपत्तीबाट नेपाली कांग्रेस अत्यन्तै मर्माहत भएको छ’, पौडेलले भनेका छन्, ‘मृत्तकका आफन्तलाई क्षतिपूर्ति र घाइतेको उपचार तथा राहतका लागि सरकारसँग आग्रह गर्दछु।’
पौडेलले बारा र पर्सा जिल्लाका पीडितहरूको उद्धार र राहतका लागि खटिन नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई अपिल गरेका छन्। ‘यो विपतको घडीमा हामी सबै मिलेर उद्धार र राहत प्रदान गर्नुपर्छ’, उनले भनेका छन्,‘बिरामीहरूको उपचारमा रगतको अभाव भएको छ। अस्पतालमा पुगेर रक्तदान गर्न पनि मेरो आग्रह छ।’
आइतबार राति आएको आधा घण्टाको हावाहुरीले हजारौं सर्वसाधारणको घर, गोठ भत्काइदिएको छ। भत्किएका घर र गोठ निर्माणका लागि पनि राहत दिनुपर्ने कांग्रेस नेता पौडेलले सरकारसँग आग्रह गरेका छन्।
वरिष्ठ नेता पौडेलले हावाहुरी पीडितहरूको उद्धारमा खटिएका सुरक्षाकर्मी, स्थानीय र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूलाई धन्यावाद पनि दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।