काठमाडौं- मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि खेलकुद क्षेत्रका केही चर्चित अनुहार चुनावी मैदानमा उत्रिएका छन्। चुनावी प्रतिस्पर्धमा उत्रनेमा नेपाल ओलम्पिक कमिटिका अध्यक्षदेखि ओलम्पियनसम्म छन्।
नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ८ बाट एमालेको तर्फबाट प्रतिनिधिसभाको लागि उम्मेदवार बनेका छन्। एमालेका केन्द्रीय सदस्यसमेत रहेका श्रेष्ठ यसअघि दुईपटक संविधानसभा सदस्यका लागि उम्मेदवार बनेका थिए। तर दुवै पटक पराजित भए। यसअघि काठमाडौं महानगरपालिकाको मेयरको दौडमा रहेका श्रेष्ठले अन्तिम समयमा प्रतिनिधिसभाको टिकट पाएका हुन्। यसअघि यो क्षेत्र माओवादीलाई दिने वाम गठबन्धनले निर्णय गरेको थियो।
श्रेष्ठले यो क्षेत्रमा कांग्रेसका नवीन्द्रराज जोशीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। जोशी यो क्षेत्रबाट संविधानसभा सदस्यको दुवै निर्वाचनमा विजयी भएका थिए।
ओलम्पियन सुरेन्द्र हमाल पनि कांग्रेसको तर्फबाट प्रदेशसभाका लागि उम्मेदवार बनेका छन्। भारोत्तोलनका खेलाडी हमालले सन् १९८४ मा अमेरिकाको लसएन्जलसमा भएको ओलम्पिक गेम्समा सहभागिता जनाएका थिए। हाल राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष हमाल बाँके क्षेत्र २ (ख) मा प्रदेशसभाको उम्मेदवार बनेका छन्। हमालसँग यो क्षेत्रमा एमालेका विजयकुमार गुप्ता, संघीय फोरमका दुर्गेसकुमार वैश्य र राष्ट्रिय जनता पार्टीका कैलाशकुमार मिश्रले प्रतिस्पर्धा गर्नेछन्।
काठमाडौं क्षेत्र नम्बर ९ (क) को प्रदेशसभामा अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले उम्मेदवारी दिएका छन्। एन्फाका प्रवक्तासमेत रहेका तुलाधरलाई कांग्रेसले टिकट दिएको हो। तेक्वान्दोका प्रशिक्षक तुलाधर संकटा क्लबका अध्यक्ष पनि हुन्। तुलाधरसँग चुनावी मैदानमा वाम गठबन्धनका अजयकान्ती शाक्य प्रतिस्पर्धामा छन्।
राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जन ललितपुर क्षेत्र नम्बर १ (क) मा प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा छन्। करातेका पूर्व खेलाडी महर्जन कांग्रेसबाट उम्मेदवार बनेका हुन्। उनले यस क्षेत्रमा वाम गठबन्धनका चेतनाथ सन्जेलसँग प्रतिस्पर्धा गर्नेछन्।
एन्फा उपाध्यक्ष किशोर राई सुनसरी क्षेत्र नम्बर १ (क) बाट चुनाव लडेका छन्। कांग्रेसका उम्मेदवार राईले एमालेका प्रदीप भण्डारीसँग प्रतिस्पर्धा गर्नेछन्।
नेपाल क्रिकेट संघ क्यानका पूर्वअध्यक्ष टंक आङबुहाङ पनि ताप्लेजुङ (ख) बाट उम्मेदवार बनेका छन्। माओवादीबाट चुनाव लडेका आङबुहाङको भिडन्त कांग्रेसका दीपेन्द्रकुमार सेन्दाङसँग हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।