काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले राष्ट्रिय सहकारी बैंक केन्द्रीय कार्यालय कुपण्डोलको अनुगमन तथा निरीक्षण गर्नुभएको छ।
बैंकको निरीक्षणपश्चात आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सहकारीमैत्री वातावरण निर्माण गरिने बताएकी छन्। सरकार र सहकारी अलग-अलग जान नसक्ने भन्दै उनले सहकारी र सरकार एक भएर अगाडि बढ्नुपर्ने बताए।
संविधानमा नै सहकारीलाई सरकारको तीन खम्बे अर्थ नीतिको रूपमा उल्लेख गरेर स्वीकार गरिसकेको भन्दै उनले अलग-अलग जान नसकिने बताएकी छन्।
सहकारीको हात बाँधेर सहकारीले आर्थिक क्षेत्रमा योगदान गर्न नसक्ने भन्दै मन्त्री अर्यालले बचत तथा ऋणसम्बन्धी ऐन निर्माण गर्ने तयारीमा मन्त्रालय रहेको उल्लेख गरिन्।
'सहकारी ऐन २०७४ मा बचत तथा ऋणसम्बन्धी ऐन निर्माण गर्नसक्ने व्यवस्था छ। त्यसैअनुसार हामी बचत तथा ऋणसम्बन्धी ऐन निर्माण गर्ने तयारीमा छौ,' मन्त्री अर्यालले भनिन्, 'सहकारीको हात बाँध्ने, खुट्टा बाँध्ने कानुन सहकारीमैत्री हुन सक्दैन। हामी त्यसलाई सकेसम्म संशोधन गरेर भएपनि सहज बनाउने तयारीमा लागेका छौ।'
सरकार सहकारीमैत्री सरकार र कानुन बनाउने प्रयासमा मन्त्रालय रहेको उनको भनाइ थियो। 'सहकारीमैत्री सरकार बनाउन र सहकारीमैत्री कानुनको अनुभुति गराउने प्रयासमा हामी छौ,' उनले भनिन्, 'संविधानमा लेखेर राज्यले पनि स्विकार गरिसकेको छ। सरकारबाट हुने सहसहयोगमा सहकारीलाई कुनै कमी रहदैन।'
त्यस अवसरमा सहकारी विकास बैंकका कार्यकारी अध्यक्ष केबी उप्रेतीले बैंकले गरेका कामका बारेमा जानकारी गराएकी थिइन्।
बैंकका प्रमुख कार्यकारी अधिकृत सिए बद्रीकुमार गुरागाईले बैंकले ब्रान्डिङ, बिजनेश डेभलपमेन्ट कार्य, प्लानिङ कार्य तथा विभिन्न किसिमका तालिमहरू सञ्चालन गर्दै आएको जानकारी दिइन्।
त्यस अवसरमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशब बडल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपिनाथ मैनालीले सहकारीले समग्र मुलुकको अर्थतन्त्रमा र सरकारले सहकारीलाई सहयोग गर्दै अघि बढ्नुपर्ने बताएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।