पोर्चुगल (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका पूर्व डिफेन्डर प्याट्रिस इभ्रा युरोपा लिगभन्दा अगाडि नै आफ्नै क्लबका समर्थकलाई लात्तले हानेको आरोपमा रातो कार्ड पाएर बाहिरिएका छन्।
मार्सेइका ३६ वर्षीय यी फ्रेन्च लेफ्ट–ब्याक विहिबार राती पोर्चुगलको स्टेडियो डि आफेन्सो हेनरिक्स रंगशालामा युरोपा लिगअन्तर्गत भिटोरिया गुइमारेसविरुद्ध खेल खेल्न मैदानमा उत्रिँने तयारीमा थिए।
वार्म–अपका क्रममा यो घटना भएको हो। मार्सेइकै एक समर्थक मैदानको होडिङ बोर्ड नजिकै थिए। इभ्राले उनलाई झम्टिँदै लात्तले हिर्काएका थिए। यसको भिडियो फुटेजसमेत बाहिरिएको छ।
उनी युरोपा लिगको इतिहासमा खेल अगाडि नै रातो कार्ड पाएर बाहिरिने पहिलो खेलाडी समेत बन्न पुगेका छन्। यही खेलमा काउबाकर कामारालाई पनि ८६ मिनेटमा रातो कार्ड देखाइएको थियो। खेल मार्सेइले १–० ले हार्यो।
युरोपेली फुटबलमा यस्तो खालको घटना १९९५ मा भएको थियो। जतिबेला म्यानचेस्टर युनाइटेडका एरिक क्यान्टोनाले उडेर कम्फु शैलीमा सेलहस्र्ट पार्कमा क्रिस्टल प्यालेसका समर्थक म्याथ्यु सिमोन्सलाई हिर्काएका थिए।
युएफाले इभ्रालाई दण्डित गर्ने स्पष्टै छ तर उनको भविष्यमा मार्सेइमा के हुने भन्ने प्रश्न पनि खडा भएको छ।
क्लबका प्रशिक्षक रुडी गार्सियाले इभ्राजस्ता अनुभवी खेलाडीको व्यवहारबाट आफू स्तब्ध भएको प्रतिक्रिया दिएका छन्। ‘आफ्नै समर्थकलाई कुट्नु भनेको तल्लो स्तरमा उत्रिँनु हो,’ उनको ठहर छ।
८ वर्ष म्यानचेस्टरमा रहँदा उनी ५ वटा प्रिमियर लिग र एउटा च्याम्पियन्स लिगको हिस्सा थिए। उनी यसै जनवरीमा युभेन्ट्स हुँदै मार्सेइ आएका थिए। सन् २००५ मा फ्रेन्च लिग मोनाकोमा आवद्ध हुँदा अक्जुरीविरुद्ध पछिल्लो पल्ट उनले रातो कार्ड पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।