नेपालगञ्ज– बिहीबार भएको उम्मेदवारी मनोनयनमा बाँकेमा वाम गठबन्धनलाई आफ्नै बागी उम्मेदवारहरुले चुनौती दिएका छन्।
नेकपा एमाले र माओवादी केन्द्रबीच भएको चुनावी गठबन्धनप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्रका २ युवा नेताले बागी उम्मेदवारी दिएका छन्।
बाँकेको क्षेत्र नम्बर १ को प्रदेश (क) मा गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी नेतृ कृष्णा केसी (नमुना)को विरुद्धमा माओवादी केन्द्रकै युवा नेता अमर खड्काले बागी उम्मेदवारी दर्ता गराएका छन् । खड्का स्थानीय निर्वाचनभन्दा केही समयअघि नेपाली काग्रेस छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए।
प्रतिनिधिसभामा नाम सिफारिस भएकी कृष्णा केसी सिफारिस नै नभएको क्षेत्र नम्बर १ को प्रदेश (क) को उम्मेदवार बनेपछि असन्तुष्ट माओवादी कार्यकर्ताको आग्रहमा खड्काले बागी उम्मेदवारी दिएका हुन् । खड्काको नाम पार्टीले सोही क्षेत्रबाट सिफारिस गरे पनि टिकट भने दिएन।
‘नमुनाले म प्रदेशमा नभई केन्द्रको उम्मेदवार बन्छु भन्दै आउनुभएको थियो । तर अन्तिममा आएर प्रतिबद्धता विपरीत प्रदेशमा उम्मेदवारी बागीमा उम्मेदवारी दिएको हुँ’, खड्काले बताए।
नमुनाले भने केन्द्रमा दाबी भए पनि पार्टी अध्यक्ष प्रचण्डले नै फोन गरेर प्रदेशमा उम्मेदवारी दिन निर्देशन दिएपछि प्रदेशमा उम्मेदवारी दिएको बताइन्।
प्रचण्ड प्रधानमन्त्री भएका समयमा नमुनाले केही समय प्रधानमन्त्रीको सचिवालयमा समेत काम गरेकी थिइन्।
त्यस्तै, बाँके क्षेत्र नम्बर ३ को (ख) मा पनि माओवादीका कार्यकर्ता विजयकुमार पाठकले बागी उम्मेदवारी दिएका छन् । सुरुमा पार्टीले सिफारिस गरे पनि माओवादी केन्द्रले सो क्षेत्र एमालेलाई दिएसँगै उम्मेदबार बन्न नपाएपछि असन्तुष्ट बनेका पाठकले बागी उम्मेदवारी दिएका हुन् । सो क्षेत्रमा एमालेका पुराना नेता बाबुराम गौतम गठबन्धनका उम्मेदवार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।