काठमाडौं– सन् २०२० मा जापानमा हुने ओलम्पिक खेलकुदअन्तर्गत महिला फुटबलको छनोटको दोस्रो चरणमा सहभागी हुने नेपाली टिमलाई अखिल नेपालले फुटबल संघ एन्फाले विदाई गरेको छ।
म्यानमारमा हुने छनोटमा नेपाल, भारत, म्यानमार र इन्डोनेसिया समूह ‘ए’ मा छन् । खेलहरू अप्रिल ३ देखि सुरु हुँदैछ। नेपालले पहिलो खेल अप्रिल ३ मा आयोजक म्यानमारसँग खेल्दैछ। नेपालले अप्रिल ६ मा भारत र अप्रिल ९ मा इन्डोनेसियासँग खेल्नेछ।
यसअघि म्यानमारको राजधानी यांगुनमा गत नोभेम्बरमा भएको पहिलो चरणको छनोटमा पनि म्यानमार, नेपाल, भारत र बंगलादेश एउटै समूहमा थिए । तीनै खेल नेपालले १–१ को बराबरी खेलेको थियो। अंक तालिकामा भने नेपाल म्यानमार र भारतभन्दा पछाडि परेको थियो। यद्यपी नेपाल उत्कृष्ट तेस्रो टिमका रूपमा छनोटको दोस्रो चरणमा अवसर पाएको थियो।
भारतमा भएको हिरो गोल्डकपमा पनि नेपालले भारत र म्यानमारसँग भिडेको थियो। नेपालले भारतलाई २–१ ले हराउँदा म्यानमारसँग ३–० को हार बेहोरेको थियो। उपाधि भिडन्तमा नेपाल र म्यानमार भिडेका थिए। फाइनलमा भने नेपाल पराजित भएको थियो।
यस्तै यहि महिनाको सुरुवातमा विराटनगरमा भएको साफ महिला च्याम्पियनसिपमा नेपाल र भारतले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। जहाँ नेपाल ३–१ ले पराजित हुँदा उपाधि विमुख बन्यो।
नेपालले म्यानमारसँगका पछिल्लो ३ मध्ये २ मा हार बेहोरेको छ भने भारतसँग १ खेलमा मात्र हारेको छ।
म्यामारमा हुनेछनोटमा समूह शीर्ष हुने टिम मात्र तेस्रो चरणमा पुग्नेछन्। तेस्रो चरणका लागि अस्ट्रेलिया, उत्तर कोरिया, दक्षिण कोरिया, चीन र थाइल्यान्ड छनोट भइसकेका छन्। दोस्रो चरणबाट छनोट भएका र सिधैं तेस्रो चरणमा पुगेका टिमलाई २ समूहमा विभाजन गरेछन्। समूहका शीर्ष २ टिमले जापान हुने ओपलम्पिक खेल्ने अवसर पाउनेछन्।
नेपाली टिम
गोलकिपर– अन्जना रानामगर, उषा नाथ, एन्जिला थुम्बापो सुब्बा
डिफेन्डर– हिराकुमारी भुजेल, गीता राना, पुनम जर्घामगर, अमृता जैशी, कविता धिमाल, पूजा राना, मनमाया लिम्बु
मिडफिल्डर– अनिता बस्नेत, दीपा राई, मन्जली कुमारी योन्जन, सर्मीला थापा, सरु लिम्बु, रेनुका नगरकोटी, अनिता केसी
फरवार्ड- रेखा पौडेल, निरु थापा (कप्तान), सावित्रा भण्डारी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।