काठमाडौं– आगामी पुस पहिलो साता हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) का लागि ललितपुर पेट्रियट्सले कात्तिक २४ गते ट्यालेन्ट हन्ट गर्ने भएको छ।
ट्यालेन्ट हन्ट सानेपास्थित काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरमा सञ्चालन गर्ने ललितपुरका प्रबन्ध निर्देशक छुम्वी लामाले जनाएका छन्।
ट्यालेन्ट हन्टमा सहभागी हुन चाहनेले काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरमा फारम बुझाउनुपर्नेछ । ललितपुरको वेब पोर्टलमा गएर फारम डाउनलोड गर्न सकिनेछ।
ट्यालेन्ट हन्टमा सहभागी हुन चाहने खेलाडीले आफ्नो जन्मदर्ता वा एसएलसीको प्रमाणपत्रको प्रतिलिपि पनि बुझाउनुपर्ने ललितपुर पेट्रियट्सले जनाएको छ ।
पहिलो चरणमा ५० जना खेलाडी छनोट गर्ने ललितपुरले जनाएको छ। पहिलो चरणमा छनोट भएको खेलाडीको टिम बनाएर अभ्यास खेल खेलाइनेछ। अभ्यास खेलमा उत्कृष्ट प्रदर्शन गर्ने ३ देखि ४ खेलाडीलाई बन्द प्रशिक्षणमा मौका दिइनेछ। बन्द प्रशिक्षणमा सहभागी मध्ये एक खेलाडीले ललितपुरबाट इपिएल खेल्ने मौका पाउनेछन्।
इपिएलमा सहभागी ६ टिमले १–१ जना खेलाडी ट्यालेन्ट हन्टमार्फत छान्नुपर्ने व्यवस्था छ । इपिएल आगामी पुस ४ गतेबाट हुँदै छ । १२ दिन चल्ने लिगमा १९ खेल हुनेछन् । लिगमा ६ टिमबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने लिगमा काठमाडौं किंग्स इलेभेन, ललितपुर पेट्रियट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर, पोखरा राइनोज र चितवन टाइगर्स प्रतिस्पर्धा गर्नेछन्।
अक्सनमा प्रत्येक टिमले १०–१० खेलाडी आफ्नो टिममा भित्र्याएका थिए । अब प्रत्येक टिमले ३–३ जना विदेशी तथा एक स्थानीय खेलाडी ट्यालेन्ट हन्टमार्फत छान्न बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।