काठमाडौं– एएफसी यू–१९ च्याम्पियनसिप अन्तर्गत समूह 'ए' को छनोट प्रतियोगितामा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ।
नेपाल दोस्रो खेलमा बहराइनसँग ४–० गोलले पराजित भएको हो । २० मिनेटमा अली हसनले गोल गरेर बहराइनलाई अग्रता दिलाए । नेपालको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै उनले गोल गरेका थिए।
६९ मिनेटमा हसनले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरे । हसनले काउन्टर आक्रमणमा सुन्दर गोल गरेका थिए । ८६ मिनेटमा इब्राइम मुबारकले बहराइनका लागि तेस्रो गोल गरे।
८९ मिनेटमा नेपाल १० खेलाडीमा सीमित भयो । बहराइनका खेलाडीलाई डरलाग्दो फल गरेपछि दिनेश हेन्जनलाई रेफ्रीले रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए।
दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा हुसेन मोहम्मदले अर्को गोल गरेपछि बहराइन ४–० ले विजयी भयो।
मंगलबार भएको पहिलो खेलमा नेपाल घरेलु टिम किर्गिस्तानसँग २–० ले पराजित भएको थियो।
एएफसी यू–१९ च्याम्पियनसिपमा छनोट समूह 'ए' मा नेपालसहित युएई, ओमान, बहराइन र आयोजक किर्गिस्तान गरी पाँच टिम छन् । समूहमा शीर्ष स्थान हात पार्ने टिम एक वर्षपछि इन्डोनेसियामा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा छनोट हुनेछ । दोस्रो स्थान हात पार्ने टिमको पनि छनोट हुने सम्भावना हुनेछ।
नेपालले तेस्रो खेल कात्तिक १८ मा युएईसँग र चौथो खेल कात्तिक २२ मा ओमानसँग खेल्नेछ । सन् २०१८ को अक्टोबरमा इन्डोनेसियामा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा १६ टिमबीच प्रतिस्पर्धा हुनेछ । जहाँ १० वटा समूहको शीर्ष १० टिम तथा दोस्रो स्थान हात पारेका ५ टिम छानिनेछन् । इन्डोनेसिया भने आयोजकको रुपमा छनोट भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।