बैङ्कक– थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई दिइएको शाही मानपदवी फिर्ता गरेका छन्।
भ्रष्टाचारको अभियोग लागेकाले उनलाई दिइएको मानपदवी फिर्ता लिनु परेको राजदरबारको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।
कार्यालयद्वारा शुक्रबार जारी वक्तव्यमा भनिएको छ, 'राजा माहा वाजिरालोङकोर्नले पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई प्रदान गर्नुभएको शाही मानवदवी फिर्ता लिन शाही निर्देशन जारी गर्नुभएको छ।'
थाइल्याण्डमा संसदीय निर्वाचन भएको एक हप्ता नसकिँदै राजाले थाक्सिनको मानपदवी खोसेका हुन्।
थाक्सिनलाई सन् २००८ मा प्रधानमन्त्री रहेकै बेला विवादास्पद भ्रष्टाचारको अभियोग लगाई सेनाले नै सत्ताच्यूत गरेको थियो। उनी त्यतिबेलादेखि नै विवादास्पद भ्रष्टाचारको अभियोगका कारण स्वेच्छिक निर्वासनमा बस्दै आएका छन्।
भ्रष्टाचारको अभियोगमा उनलाई अदालतले कम्तीमा दुई वर्ष जेल बस्नु पर्ने फैसला सुनाएको थियो। तर, सिनावात्राले भने आफूमाथि लगाइएको अभियोग अस्वीकार गर्दै आएका छन्।
थाइल्याण्डमा गत आइतबार भएको संसदको निर्वाचनमा थाक्सिनको समर्थन रहेको फिउ थाइ पार्टीले नै सबैभन्दा धेरै स्थानमा जित हासिल गरेको छ।
सैनिक शासकको समर्थन रहेको पालङ प्रचार रथ पार्टीले भने सबैभन्दा धेरै मत पाएको छ।
कूल ५ सय स्थान रहेको संसदमा फिउ थाइले सबैभन्दा धेरै अर्थात् १३७ सिटमा विजय हासिल गरेको छ भने पालङ प्रथा रथले १ सय १८ सिट जितेको छ।
थाइल्यान्डको संसदको तल्लो सदनमा तीन सय ५० जना प्रत्यक्ष निर्वाचित र १ सय ५० जना पार्टीबाट निर्वाचित गरी ५ सय जना सांसद रहन्छन् भने माथिल्लो सदनमा २ सय ५० जना सेनाले मनोनित गर्ने व्यवस्था रहेको छ।
केही वर्षअगाडि सेनाले नै बनाएको संविधानमा २ सय ५० जना सेनाले नै सांसद मनोनित गर्ने व्यवस्था गरिएको हो।
पटक पटक सरेर भएको निर्वाचनको निष्पक्षता र वैधानिकता माथि भने विभिन्न क्षेत्रबाट अहिले पनि प्रश्न उठाइएको छ।
पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा, कतिपय स्वतन्त्र अन्तर्राष्ट्रिय पर्यवेक्षकलगायतले मतदान र मतगणनामा त्रुटी रहेको दाबी गरेका छन्। उनीहरूले देशव्यापी रूपमा मतदाताहरूलाई लोभ, त्रास र प्रभावमा पारेको बताएका छन्।
विवादका बीचमा पनि नतिजा सार्वजनिक भएको छ भने सात पार्टीले बुधबार नयाँ गठबन्धन बनाएका छन्।
सबैभन्दा धेरै स्थानमा विजय हासिल गरेको फिउ थाइ पार्टीकै नेतृत्वमा गठबन्धन गराइएको हो। गठबन्धनले चाँडै नै सरकार बनाउने प्रयास गर्ने नेताहरूले बताएका छन्।
सो गठबन्धनका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारका रुपमा सुदारात केयुराफानलाई अगाडि सारिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।