संयुक्त राज्य अमेरिका- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका छिर्न खोज्ने आप्रवासीलाई रोक्न थप कदम नचाले मेक्सिकोसँग जोडिएको सीमा बन्द गर्न सक्ने बताएका छन्। सीमा बन्द गरिए आवतजावत अवरुद्ध हुनुका साथै अर्बौँ डलरले व्यापार खर्च बढ्नेछ।
मेक्सिकोको नाका भएर अमेरिका छिर्ने आप्रवासीहरूको सङ्ख्यामा वृद्धि भइरहँदा ट्रम्पको पछिल्लो चेतावनी आएको हो। मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानवेल लोपेश ओर्बयाडोरले यो विषयलाई लिएर आफू मुठभेडको स्थितिमा नफस्ने बताएका छन्।
विदेशमन्त्री मार्सेलो एब्रार्डले मेक्सिको अमेरिकाको ठूलो छिमेकी भएको र चेतावनीका आधारमा कदम नचाल्ने भन्दै शनिबार ट्वीट गरेका छन्।
यसअघि शुक्रवार पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले अर्को हप्ता सीमा बन्द गराउने तयारी गरेको भन्दै आफूलाई कुनै समस्या नपर्ने बताएका थिए।
अमेरिका छिर्न खोज्ने मानिसहरूलाई रोक्ने काम सजिलो भए पनि मेक्सिकोले त्यसो नगरेको ट्रम्पको तर्क छ। त्यसपछि सो विषयमा ट्रम्पले शृङ्खलाबद्ध ट्वीटहरू गरेका छन् जसमा उनले लागुऔषध तस्करी नियन्त्रणमा रकम खर्चिनुभन्दा सीमा बन्द गर्नु राम्रो हुने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।