प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि प्रधानमन्त्री निवास बालुवाटारमा टिकट वितरणको छलफल चलिरहेका बेला नेपाली कांग्रेस नेता गोविन्दराज जोशी गृहजिल्ला तनहुँमा भेला गर्न व्यस्त थिए। क्षेत्रीय भेलाले उम्मेदवार बनाउन सिफारिस गरेकाले संसदीय बोर्डले भेलाको सिफारिस अनुमोदन गर्नेमा उनी ढुक्क देखिन्थे। कांग्रेसले तनहुँ क्षेत्र नम्बर १ मा वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गर्यो। अन्ततः नेता पौडेल विरुद्ध गोविन्दराज जोशीले उम्मेदवारी दर्ता गराए। विवादस्पद छवीका जोशी पार्टीको निर्णय विरुद्ध किन गए? नेपाल लाइभका लागि शिशिर ढकालले उनीसँग गरेको कुराकानीः
पार्टीको निर्णय विरुद्ध तपाईंले किन उम्मेदवारी दिनुभएको?
पार्टीको क्षेत्रीय भेलाले मलाई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिफारिस गरेको छ। भेलाले अनुमोदन गरेर केन्द्रमा पठाएकाले यो नै पार्टीको निर्णय हो। मैले दिएको उम्मेदवारीलाई पार्टीको निर्णय विरुद्ध भन्न मिल्दैन। केन्द्रले फिल्डको भावनाको कदर नगरेकाले मैले जनताको माग अनुसार क्षेत्रीय भेलाको सिफारिसलाई न्याय गर्न उम्मेदवारी दिएको हुँ।
पार्टीको निर्णय अनुसार अघि बढ्नु कार्यकर्ताको दायित्व होइन र?
सक्षम कार्यकर्ताले नेतृत्वको विरोध गर्ने हिम्मत गर्नुपर्छ। टिकटको बेचबिखिन गर्ने काम संसदीय बोर्डबाट भएको छ। टिकट वितरणमा नातावाद-कृपावाद हावी भएको छ। यस्ता क्रियाकलापको विरोध हुनुपर्छ। अन्याय विरुद्ध लड्ने साहस मभित्र छ। मेरो उम्मेदवारीको निर्णय अन्यायको विरुद्ध हो।
पार्टीले रामचन्द्र पौडेललाई टिकट दिएको अवस्थामा तपाईंले कांग्रेसको आधिकारिक उम्मेदवार म हुँ भन्न मिल्छ, तपाईं त बागी होइन र?
तल्लो तहमा रामचन्द्रजी होइन म सिफारिस भएको हुँ। रामचन्द्रजीलाई उम्मेदवार बनाउने निर्णय त केन्द्रबाट भएको हो। क्षेत्रीय भेलाले सिफारिस गरेकाले म तनहुँ क्षेत्र नम्बर १ को कांग्रेसको आधिकारिक उम्मेदवार हुँ। मलाई बागी उम्मेदवार भन्न मिल्दैन। रामचन्द्रजी चाहिँ बागी उम्मेदवार हो।
रामचन्द्र पौडेललाई टिकट दिँदा तपाईंलाई आपत्ति किन?
२६ वर्षसम्म तनहुँबाट प्रतिनिधित्व गर्दा रामचन्द्रजीले यस क्षेत्रमा केही गर्न सक्नु भएको छैन। काम गर्न नसक्ने व्यक्तिलाई पटक-पटक अवसर दिनु जायज हो र? अरुले चाहिँ अवसर पाउनुपर्दैन? तनहुँ अभिभावक विहीन छ, तनहुँलाई अभिभावक विहीन बनाउनु हुँदैन भन्ने मेरो माग हो।
भ्रष्टाचार मुद्दा खेपिरहेको तपाईंलाई जनताले किन मत दिने?
यो विषय अदालतमा विचाराधीन भएकाले यसमा मेरो धेरै टिप्पणी छैन। म तनहुँको विकासमा निरन्तर क्रियाशील छु। तनहुँमा हालसम्म राम्रो अस्पताल छैन। राम्रो क्याम्पस बन्न सकेको छैन। यो क्षेत्रको समग्र विकासका लागि जनताले मलाई मत दिनुपर्छ र दिनुहुनेछ। उम्मेदवारी दर्ता गर्न आउँदा हजारौँले समर्थन गर्नुभएको छ। उहाँहरुले मलाई अभिभावक मान्नुभएको छ र मत दिएर निर्वाचित समेत गराउनुहुनेछ।
तपाईंको उम्मेदवारी बार्गेनिङका लागि हो र फिर्ता हुन्छ भन्ने चर्चा पनि छ नि?
म मेरो निर्णयमा अडिग रहेन व्यक्ति हुँ। बार्गेनिङका लागि मैले उम्मेदावरी दिएको होइन। टिकट वितरणमा भएको स्वेच्छाचारिता विरुद्ध मेरो उम्मेदवारी हो। यहाँका जनताको माग र आग्रह अनुसार मैले उम्मेदवारी दर्ता गराएको हुँ। उम्मेदावरी फिर्ता लिएर मबाट जनभवानाको अपमान हुनेछैन। मेरो उम्मेदवारी कामय हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।