काठमाडौं– एसिसी यू–१९ एसिया कपको तयारीका लागि बंगलादेश भ्रमणमा रहेको नेपाली युवा क्रिकेट टिम पहिलो अभ्यास खेलमा पराजित भएको छ।
बिहीबार भएको अभ्यास खेलमा नेपाललाई बंगलादेश यू–१९ टिमले ३ विकेटले पराजित गरेको हो । नेपालले दिएको १ सय ५४ रनको लक्ष्य बंगलादेशले ३९ ओभरमा ७ विकेटको क्षतिमा पूरा गरेको हो।
बंगलादेशका लागि तोहि रेड्डीले नटआउट ४८ रन जोडे । उनले ६६ बलमा ३ चौका र १ छक्का हिर्काए । काजी इस्लाम १८ रनमा अविजित रहे।
ओपनर नइम शिखले ५३ रन जोडे । ६५ बल खेलेका नइमले ८ चौका प्रहार गरे । उनलाई सन्दीप लामिछानेले आउट गरे । अर्का ओपनर पिनाक घोषले १४ रन जोडे । उनलाई दीपेन्द्रसिंह ऐरीले रनआउटको सिकार बनाए । कप्तान सइफ हसन ७ तथा अफिफ हुसेन ३ रनमा आउट भए । सइफलाई पवन सर्राफ तथा अफिफलाई सन्दीप लामिछानेले आउट गरे।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए । सन्दीपले १० ओभरमा १ मेडन राख्दा २५ रन खर्चिए । साहब अलाम र पवन सर्राफले १–१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभर पूरै खेलेर ९ विकेटको क्षतिमा १ सय ५३ रन जोड्यो । नेपालका लागि ओपनर मोहम्मद आसिफ शेखले सर्वाधिक ३२ रनको योगदान गरे । आसिफले ७७ बल खेलेर ३ चौका प्रहार गरे । अर्का ओपनर सन्दीप सुनार १ रनमै आउट भएका थिए।
५ विकेट गुमाउँदा ८८ रन बनाएको स्थितिमा ब्याटिङमा आएका भीम सार्कीले २८ रनको योगदान गरे । भीमले ४६ बलमा २ चौका र २ छक्का प्रहार गरे।
अनिलकुमार साहले १८ रन जोडे भने कप्तान दीपेन्द्रसिंह ऐरीले १६ रन बटुले । अनिलले ३४ बलमा ३ चौका तथा दीपेन्द्रले २४ बलमा २ चौका हिर्काए।
पवन शर्राफले १९ तथा कमलसिंह ऐरीले नटआउट १७ रन बनाए । पवनले ५१ बल खेलेर २ चौका र कमलले ३४ बलमा १ चौका हिर्काए । साहब अलाम र किशोर महतो ६–६ रनमा आउट भए।
बलिङतर्फ बंगलादेशका काजी इस्लाम र हसन मोहम्मद ३–३ विकेट लिन सफल भए । नायम हसनले २ र साकावत हुसेनले १ विकेट लिए।
नेपालले अभ्यासका क्रममा बंगलादेशको युवा टिमसँग अझै २ वटा अभ्यास खेल खेल्नेछ । अभ्यास खेल कात्तिक १८ र १९ मा हुनेछ।
कात्तिक २३ देखि मलेसियामा हुने एसिसी यू–१९ एसिया कपमा नेपाल र भारत एउटै समूहमा छन् । समूह 'ए' मा नेपालसहित भारत, बंगलादेश र मलेसिया छन् । समूह 'बी' मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र एसिसी पश्चिम क्षेत्र च्याम्पियनसिपको विजेताले प्रतिस्पर्धा गर्नेछन्।
एसिया कपमा नेपालले पहिलो खेल कात्तिक २५ मा बंगलादेशसँग खेल्नेछ । नेपालको दोस्रो खेल कात्तिक २६ मा भारतसँग र तेस्रो खेल कात्तिक २७ मा मलेसियासँग छ।
नेपाली टिम
दीपेन्द्रसिंह ऐरी (कप्तान), सन्दीप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दीप सुनार, प्रनित थापामगर, अनिलकुमार साह, पवन सर्राफ, रोहितकुमार पौडेल, साहब अलाम, किशोर महतो, प्रकाश केसी, कमलसिंह ऐरी, भीम सार्की, रसिद खान, जितेन्द्र सिंह।
वैकल्पिक खेलाडी– सन्दीप जोरा, विक्रमकुमार भुसाल, अंकित सुवेदी, विजय चौधरी।
प्रशिक्षक – विनोदकुमार दास
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।