काठमाडौं– एक महिनापछि थाइल्यान्डमा हुने आइसिसी महिला विश्व टी–२० छनोटअन्तर्गत एसिया छनोटका लागि नेपालले १४ सदस्यीय राष्ट्रिय टिम घोषणा गरेको छ।
रुबिना क्षेत्री कप्तान रहेको टिममा दुई जना नयाँ खेलाडीले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन् । टिममा दाङकी लक्ष्मी चौधरी र झापाकी रोमा थापाले पहिलो पटक स्थान बनाएका हुन् । दुवैले अभ्यास खेलमा राम्रो ब्याटिङ गरेकाले टिममा स्थान दिइएको महिला टिमका प्रशिक्षक सामसनजंग थापाले नेपाल लाइभलाई जानकारी दिए।
यसअघि दोस्रो चरणमा २२ खेलाडी छनोट भएका थिए । अन्तिम २२ मा परेका शोभा आले, अलिशा क्षेत्री, सरस्वती चौधरी, विनु बुढामगर र अञ्जली चन्द राष्ट्रिय टिममा पर्न सकेनन्।
नेपाली टिम कात्तिक २३ गते बंगलादेश गएर त्यहाँ एक साता प्रशिक्षण गर्नेछ । एक साता प्रशिक्षणपछि नेपाली टिम एसिया छनोट खेल्न सीधै थाइल्यान्ड प्रस्थान गर्नेछ । बंगलादेशमा रहँदा नेपालले स्थानीय टिमसँग ३ वटा अभ्यास खेल खेल्नेछ।
एसिया छनोट मंसिर २ देखि सुरु हुनेछ । छनोटमा नेपालसहित चीन, हङकङ थाइल्यान्ड र युएईले प्रतिस्पर्धा गर्नेछन् । राउन्ड रोविन लिगमा हुने लिगको शीर्ष टिम नेदरल्यान्ड्समा हुने विश्व महिला टी–२० छनोट प्रतियोगिताका लागि छानिनेछ । एसिया छनोटमा यसअघि मलेसियाले समेत खेल्ने बताइए पनि अब भने ५ टिमबीच मात्र खेल्ने प्रशिक्षक थापाले जानकारी दिए।
छनोट प्रतियोगितामा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ । ६ टिम भने छनोट भइसकेका छन् । जसमा बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी, स्कटल्यान्ड, नेदरल्यान्ड र युगान्डा छन्।
नेपाली टिम
रुबिना क्षेत्री (कप्तान), सीता रानामगर (उपकप्तान), ज्योति पाण्डे, सरिता मगर, नेरी थापा, रोमा थापा, इन्दु बर्मा, करुणा भण्डारी, सोनु खड्का, लक्ष्मी चौधरी, रितु कनोजिया, संगीता राई, काजोल श्रेष्ठ, सवनम राई।
वैकल्पिक खेलाडी – कविता कुँवर, नितु भण्डारी, रेखा रावल।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।