अयोध्या- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वभरका मान्छेलाई अँगालो हाल्दै हिँडे पनि आफ्नैलाई नजिक राख्न नसकेको भारतीय राष्ट्रिय कांग्रेसकी महासचिव प्रियंका गान्धी भद्राले आरोप लगाएकी छन्।
'प्रधानमन्त्री मोदीले अमेरिका, जापान, चीन लगायतका कैयौं देशका मानिससँग अँगालो मार्नुभएको छ, तर उहाँले आफ्नै देशका मानिससँग अँगालो मार्नुभएको छैन,' अयोध्यामा आयोजित चुनावी सभामा प्रियंकाले भनिन्।
उनले प्रधानमन्त्री मोदी ‘आफ्नै निर्वाचन क्षेत्र वाराणासीमा नगएको भन्ने गुनासो’ सुन्दा आफूलाई आश्चर्य लागेको पनि बताइन्।
'प्रधानमन्त्री आफ्नो निर्वाचन क्षेत्रका गाउँहरुमा आएको वा नआएको बारेमा बाराणासीमा मैले स्थानीय जनतालाई सोधेको थिएँ, मैले उहाँ नआएको जवाफ पाएँ,' उनले भनिन्।
महासचिव गान्धीले आफ्नो निर्वाचन क्षेत्रलाई प्रधानमन्त्रीले बेवास्ता गरेको आरोप लगाउँदै आफ्नो निर्वाचन क्षेत्रमा केही गर्नैपर्ने भए पनि नगरेको टिप्पणी गरिन्। उनले भारतीय जनता पार्टी (भाजपा) धनी मानिसको मात्रै 'चौकीदार' बनेको तर गरिबको 'चौकीदार' नभएको आरोप लगाइन्।
मोदी नेतृत्वको सरकार 'किसानको विरुद्धमा, जनताको विरुद्धमा' रहेको र धनीलाई झन् धनी बनाउन केन्द्रित भएको कांग्रेस महासचिव गान्धीको भनाइ छ।
भारतमा लोकसभा निर्वाचनका लागि मतदान गर्ने दिन नजिकिँदै गर्दा प्रतिस्पर्धी दलहरुले एक अर्कालाई अनेक आरोप-प्रत्यारोप गर्ने क्रम बढ्दै गएको छ।
आउँदो अप्रिल ११ देखि मे १९ सम्म ७ चरणमा हुन लागेको निर्वाचनमा मुख्य गरेर सत्तारुढ दल भाजपा र प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेसका बीचमा कडा प्रतिस्पर्धा हुने देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।