जनकपुर– प्रदेश २ को प्रदेभसभामा सामाजिक विकास मन्त्री नवलकिशोर साहको राजीनामाको माग उठेको छ।
प्रदेशभित्र व्यवस्थित रुपमा माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन गर्न नसकेको भन्दै मन्त्री साहको राजीनामा माग गरिएको छ। बैठक सुरु भएलगत्तै नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहले 'एसइई परीक्षा पनि शुद्ध ढंगले सञ्चालन गर्न नसक्ने मन्त्रीलाई पदमा बसिरहन नमिल्ने' भन्दै नैतिकताको आधारमा राजीनामा दिन माग गरेका छन्।
एसइई परीक्षा संघीय सरकारले सञ्चालन गरे पनि व्यवस्थापन गर्ने जिम्मा प्रदेश सरकार मातहत रहेको बताउँदै प्रदेशसभा सदस्य सिंहले परीक्षाको व्यवस्थापन गर्न नसक्ने मन्त्री तत्काल पदबाट बाहिरिनुपर्ने जिकिर गरे।
‘परीक्षा व्यवस्थापन गर्ने जिम्मा प्रदेश सरकारको हो,’ सिंहले भने, ‘प्रदेशभित्र प्रश्नपत्र आइसकेपछि उसले रक्षा गर्न सक्नुपर्दछ। तर, यस्तो देखिएको छैन। भोलि हुने परीक्षाको प्रश्नपत्रपनि सुरक्षित हुनेमा शंका छ।’
आफूलाई परीक्षा सञ्चालन गर्ने अधिकार नरहेको भन्दै उनले गम्भीर गल्तीबाट प्रदेश सरकार र प्रदेशका सम्बन्धी मन्त्री उम्किन नसक्ने बताए।
‘अधिकार नभएपछि अनुगमन गर्न हुँदैनथ्यो, तर परीक्षा केन्द्रमा पुगेर केन्द्राध्यक्षदेखि निरीक्षक धम्क्याउने काम किन भयो?,’ प्रश्न गर्दै सिंहले भने, ‘सबै कुरामा संघीय सरकारलाई मात्र दोष लगाएर उम्किन मिल्दैन। कामै नगर्ने सक्ने मन्त्री पदमा किन बसिरह्नु पर्यो?’
‘बिहीबार सप्तरीबाट प्रश्नपत्र बाहिरिएको छ। समाजिक विकास मन्त्रीपनि सप्तरीकै हुन्,’ सिंहले भने, ‘परीक्षा अगावै प्रश्नपत्र बाहिरिन ठूलो आर्थिक चलखेल भएको हामीलाई शंका लागेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।