हेमन्त जोशी
काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माृतका प्रसाद यादवले बेला–बेला बोल्ने र गर्ने कामको चर्चा भइरहन्छ।
माृतकाको बोलीको यसकारण चर्चा हुन्छ कि उनले सिधा बोल्छन्। औपचारिक कार्यक्रममा पनि यादव अनौपचारिक र सिधा शैलीमै भाषण गर्छन्।
विगतमा कर्मचारीलाई शौचालयमा थुनेको कुरा होस् वा भाषण गर्दा आफ्नै पार्टीको सरकारलाई गरेको कटाक्ष होस्, मातृका यादवलाई चर्चाले पछ्याइरहन्छ।
सरकारकै आयोजनामा आजदेखि लगानी सम्मेलन काठमाडौंमा सुरु भएको छ। सम्मेलनसँग निकै गहन सम्बन्ध राख्ने मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् मन्त्री यादव।
तर, अन्तर्राष्ट्रिय व्यक्तित्वहरू उपस्थित सम्मेलनमा पनि मातृकाले आफ्नो पुरानै शैली दोहा¥याए। सम्मेलनको उद्घाटन सत्र चल्दै थियो। मुलुकभित्र र बाहिरबाट एक हजार भन्दा बढी व्यक्तिहरू सम्मेलनमा उपस्थित भएका कारण भिडभाड हुनु स्वभाविक हो।
सम्मेलनमा अतिविशिष्ट व्यक्तित्वहरू मञ्चमा र विशिष्ट व्यक्तिहरू पहिलो अग्रपंक्तिमा बसेको थिए। प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण चल्दै थियो। उद्योगमन्त्री मातृका सम्मेलन कक्षमा प्रवेश गरे। मन्त्री यादव उद्घाटन सत्रमा वक्ताका रुपमा थिएनन्। त्यसैले उनी मञ्चमा थिएनन्। तर, यादवले अग्रपंक्तिमा बस्न पाउने त टाढाको कुरा सम्मेलन हल भरि नै बस्ने कुर्सी भेट्टाएनन्।
बस्ने ठाउँ नभेट्टाएपछि मन्त्री रन्थनिँदै बाहिरिए। सहभागीको संख्या अत्यधिक भएपछि सम्मेलन कक्षभित्र भइरहेको उद्घाटन बाहिर‘प्रोजेक्टर’ मा पनि देखाइने व्यवस्था मिलाइएको थियो।
यादव बाहिर आएर छेउको एउटा कुर्सीमा बसे। केहीबेर त्यहाँ बसेपछि यादवलाई भित्र लगियो।
०००
सम्मेलनकै क्रममा उद्योगसँग सम्बन्धित विदेशी लगानीका विषयमा मन्त्री यादवकै अध्यक्षतामा छलफल सत्र चलिरहेको थियो। कार्यक्रमको मध्यस्थकर्ता थिए व्यवसायी प्रदीप कुमार श्रेष्ठ।
वक्ताहरू बोल्ने क्रम सकिएपछि अध्यक्षता गरिरहेका यादवले समापन भाषण गर्ने बेला आयो। उनले निकै सरल भाषामा आफ्नो मन्तव्य राखे। अंग्रेजी भाषामा बोल्दै जाँदा उनले वाक्य संरचनाका विषयमा त्यति ध्यान दिएनन्। विदेशीहरूलाई बुझाउनकै लागि उनले निकै बोलीचालीको भाषा बोले।
वाक्य संरचना पूर्ण थिएनन् तर अर्थ बुझ्न गाह्रो थिएन। उनको यही शैलीका कारण बेला बेला सभाहल नै हाँसोले गुञ्जिन्थ्यो। उनका कुरा चित्त बुझ्नेले ताली पिट्थे।
बोलेका विषयवस्तु पनि सरल तर वास्तविक। समग्रमा उनले ‘नेपालमा लगानी गर्न आऊ तर नेपालको कानुन पनि मान’ भन्ने सन्देश सहितको भाषण गरे।
छलफल सत्र सकिने बेला भने कार्यक्रमको मध्यस्थता गरिरहेका श्रेष्ठले सबै वक्तालाई मायाको चिनो (टोकन अफ लभ) प्रदान गरिदिन भन्दै गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टलाई बोलाए। एक एक गरेर भट्टले चिनो हस्तान्तरण गर्र्दै जाँदा मन्त्री यादवको पालो आयो। तर, उनले चिनो लिन खोजेनन्। ‘म त यहीँको हँु नि! मलाई के को मायाको चिनो?’ ठट्यौली पारामा जवाफ आयो।
सभाहल हाँसोले गुन्जियो।
लगानी सम्मेलनलगत्तै सरकार हेरफेर हुने र यसरी हेरफेर हुन लागेका मन्त्रीहरूमा मातृका यादव पनि रहेको अस्पष्ट चर्चा हुँदै आएको छ।
मन्त्री यादव आफैंले पनि सरकारले आफूलाई हटाउन चाहेको छ भन्ने संकेत सहितका अभिव्यक्ति दिँदै आएका छन्।
यो लगानी सम्मेलनमा अर्थमन्त्री डा. युवराज खतिवडा हावी भएको र यादवलाई उपेक्षा गरेको विषयमा पनि चर्चा हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।