काठमाडौं (एजेन्सी)– लिभरपुल ९ वर्षपछि च्याम्पियन्स लिगको नकआउट चरण प्रवेश नजिक पुगेको छ। विहिबार बिहान समूह ‘इ’ तर्फको खेलमा स्लोभेनियाको एनके मारिबोरलाई ३–० गोलले पराजित गर्ने क्रममा लिभरपुलले ४ खेलबाट ८ अंक बटुलेको छ।
सन् २००८–०९ को सिजनमा नकआउट चरण प्रवेश गरेको लिभरपुल त्यसपछि आफ्नो गर्विलो इतिहासलाई दोहर्याउन बञ्चित रहँदै आएको थियो।
लिभरपुललाई नकआउट चरणमा प्रवेश पाउन २ अंक आवश्यक छ र उसको अगाडि २ खेल बाँकी छ। लिभरपुलभन्दा १ अंकले पछाडि रहेको स्पेनिस क्लब सेभिलले पनि अर्को खेलमा स्पार्टक मस्कोलाई २–१ ले पराजित गर्यो।
लिभरपुलको जितमा मोहम्मद सालाह, मिडफिल्डर इम्रे क्यान र डानियल स्टुरेज नायक सावित भए। पहिलो हाफमा लिभरपुललाई गोलरहित बराबरीमा रोकेको स्लोभेनियाको क्लब विरुद्ध सालाहले ४९ मिनेटमा गोल गरेका थिए। दोस्रो गोल क्यानले ६४ मिनेटमा र डानियलले ९० मिनेटमा गोल गरे।
लिभरपुलले पहिलो हाफमा ८३ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखे पनि गोल गर्न सकेको थिएन्। जोर्गेन क्लोपको टोली समूहमा अपराजित छ। अब लिभरपुले सेभिलसँग उसैको घरमा र मस्कोसँग घरमा खेल्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।