काठमाडौं (एजेन्सी)– सर्जियो अगुइरो पुनः चम्किँएपछि म्यानचेस्टर सिटीले विहिबार बिहान सम्पन्न समूह चरणको खेलमा सिरिया ए क्लब नेपोलीलाई उसैको घरमा ४–२ गोलले पराजित गरेको छ।
समूह ‘एफ’ तर्फको खेलमा आफ्नो अपराजित यात्रालाई कायम राखेको सिटी थप दुई खेल खेल्न बाँकी रहँदै नकआउट चरणमा प्रवेश गरेको छ। नेपोलीको भने दोस्रो चरणमा प्रवेश गर्ने सम्भावना लगभग समाप्त भयो। ४ खेलबाट नेपोलीको ३ अंक मात्र छ।
यही समूहको अर्को खेलमा साक्टर डोनेस्कले फेनुर्डलाई ३–१ गोलले पराजित गर्ने क्रममा अंक तालिकामा ९ अंक जोडिसकेको छ। डोनेस्कलाई अघिल्लो चरण प्रवेशका लागि २ खेलबाट एक अंक जुटाए पुग्ने छ।
विहिबारको खेलमा अर्जेन्टिनी स्ट्राइकर अगुइरो सिटीको अहिलेसम्मकै सर्वाधिक गोल गर्ने खेलाडी बन्न पुगे। उनले ६९ मिनेटमा गोल गरेपछि सिटीबाट २ सय ६४ खेलमा १ सय ७८ गोल पुरा गरेका छन्।
यसअघि यो कीर्तिमान इरिक ब्रुकको नाममा थियो। उनले अघिल्लो खेलमा ब्रुकको १ सय ७७ गोलको कीर्तिमानलाई बराबरी गरेका थिए।
पहिलो हाफको खेल १–१ गोलको बराबरी भएको अवस्थामा सिटीले दोस्रो हाफमा ३ गोल थपेको थियो। खेलको २१ मिनेटमा लोरेन्जो इन्साग्नेले गोल गर्दै घरेलु टोली नेपोलीलाई अग्रता दिलाएका थिए। तर, त्यो लामो समय टिकेन्। ३४ मिनेटमै निकोलास ओट्मेन्डीले इके गुनडोगनको क्रसमा हेडिङ गोल गर्दै खेललाई बराबरीमा ल्याए।
दोस्रो हाफको ४८ मिनेटमा सिटीका जोन स्टोन्सले गोल गर्दै लिओनल मेसीको यसपालीको च्याम्पियन्स लिगको गोल संख्यालाई बराबरी गरे। दुबैले ३ गोल पुरा गरेका छन्। सिटीको अप्रत्यासित अग्रतालाई ६२ मिनेटमा फ्रेलो फिलोले पेनाल्टीमार्फत बराबरी गरे। लेरोयी सानेले डिबक्स भित्र फल खेल्दा नेपोलीले पेनाल्टीको अवसर पाएको थियो। उनले राउल अलबिओललाई लडाएका थिए।
२–२ को बराबरीमा रहेको खेलमा निर्णायक गोल अगुइरोले तेस्रो गोल थप्दै जितको आशा देखाएका थिए। चौथो गोल रहिम स्टर्लिङले ९० पछि थप गरिएको दोस्रो मिनेटमा गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।