काठमाडौं (एजेन्सी)– इंग्लिस क्लब टोटेनहामले डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडलाई च्याम्पियन्स लिगको समूह चरणको खेलमा ३–१ गोलले स्तब्ध पारेको छ।
विहिबार बिहान इंग्ल्यान्डको विम्बलेमा सम्पन्न समूह ‘एच’ तर्फको खेलमा डाले अलीको २ तथा क्रिस्टियन इरिक्सनको १ गोलको सहयोगले टोटेनहामले डिफेन्डिङ च्याम्पियनलाई स्तब्ध पारेको हो।
म्याड्रिडका लागि एक मात्र गोल ८० मिनेटमा क्रिस्टियानो रोनाल्डोले फर्काए। यसअघि घरेलु टोलीले अलीको २६ र ५६ मिनेटको गोलको सहयोगले सुरुमै अग्रता बनाएको थियो। ६५ मिनेटमा इरिक्सनले तेस्रो गोल थपेका थिए।
गत सिजन समूह चरणबाट बाहिरिएको इंग्लिस टोली विहिबारको जितपछि ४ खेलबाट १० अंक बटुल्दै नकआउट चरणमा प्रवेश गरेको छ। म्याड्रिडको भने दोस्रो चरणमा प्रवेश गर्ने आशा पुरा हुन सकेन्।
ह्यामस्ट्रिङ समस्याले बाहिर रहेका स्ट्राइकर हेरी किन टोलीमा फर्किएपछि टोटेनहाम थप धारिलो बनेको थियो। इंग्लिस क्लबले बेल्जियमका डिफेन्डर टोबी अल्डरविरेल्डलाई ह्यामस्ट्रिङ कै समस्याका कारण २४ मिनेटमा गुमायो। उनी केही साता टोलीबाट बाहिरिन सक्ने सम्भावना बढेको छ।
अली म्याड्रिड विरुद्ध च्याम्पियन्स लिगको एउटै खेलमा २ गोल गर्ने दोस्रो इंग्लिस खेलाडी बन्न पुगेका छन्। यसअघि २००९ मा स्टिभन जेरार्डले यो कीर्तिमानलाई आत्मसाथ गरेका थिए। उनको सिजनको छैटौं गोल पनि थियो।
टोटेनहामले छैटौं प्रयासमा म्याड्रिडलाई पराजित गरेको हो। यसअघि ५ खेलमा ऊ म्याड्रिडसँग पराजित हुँदै आइरहेको थियो। २०१२ यता च्याम्पियन्स लिगको समूह चरणको खेलमा म्याड्रिड पहिलो पल्ट पराजित पनि भएको हो। उसको ३० खेलको अपराजित यात्रा पनि टुँगिएको छ। युभेन्ट्ससँग २००८ मा २–० ले पराजित भएपछि म्याड्रिडको समूह चरणको खेलमा यो सबैभन्दा धेरै गोल अन्तरको पराजय हो।
यही समूहअन्तर्गत बोरुसिया डर्टमुन्ड र एपोइल निकोसियाबीचको खेल १–१ गोलको बराबरीमा रोकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।