काठमाडौं– अस्ट्रेलियामा नेपाली समुदायका टिमले सहभागिता जनाउने एक फुटबल प्रतियोगिताका दौरान खेलाडीबीच मैदानमै कुटाकुट भएको छ।
सिड्नीमा गोर्खा नेप्लिज कम्युनिटीले आयोजना गरेको २०१९ जीएनसी शिल्डको तेस्रो स्थानको लागि भएको खेलका दौरान खेलाडहरुबीच कुटाकुट भएको हो। कुटाकुट भएको भिडियो अहिले सोसल मिडियामा भइरल बनिरहेको छ। भिडियोमा खेलाडीबीच ग्याङ फाइट गरेको जस्तो देखिएको छ। खेलाडीहरुले एकअर्कालाई मुक्का प्रहार गरेको देखिएको छ भने कतिले विपक्षी खेलाडीलाई लखेटेर लात्ताले हानिरहेको देखिएको छ।
गत मार्च २४ मा सगरमाथा एफसी र जेन्ट जर्ज नेप्लिज क्लबबीचको खेलका दौरान खेलाडीबीच हात हालाहाल भएको थियो। सो खेल पश्चिम सिड्नीको लिडकम्बस्थित वाएत पार्कमा आयोजना भएको थियो। दुई टिमका खेलाडीबीच झगडा परेपछि खेल स्थगित गरिएको छ।
गोर्खा नेप्लिज कम्युनिटीले आयोजना गर्ने यो प्रतियोगिता नेपाली समुदायमा लोकप्रिय छ। पछिल्लो २० वर्षदेखि भइरहेको प्रतियोगिताको यो संस्करणमा २१ वटा क्लबले भाग लिएका थिए। ५ महिना चलेको यस सिजनको फाइनलमा बेनी एफसीले माछापुछ्रे क्लबलाई हराएर उपाधि जितेको थियो।
तेस्रो स्थानका लागि भएको खेलमा झगडा भएको पुष्टि गर्दै आयोजक गोर्खा नेप्लिज कम्युनिटीले खेद व्यक्त गरेको छ। घटनाले आयोजकसहित सबै नेपालीको शिर निहुराएको आयोजकको भनाइ छ। यस्तै घटनाबारे छानविन गरेर सत्य बाहिर ल्याउने आयोजकले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।