हनोई- भियतनामको भन्सार प्रशासनले काठमा लुकाइछिपाई ल्याइएको ९ टन हात्तीको दाँत बरामद गरेको छ। हात्तीका ती दाँत अफ्रिकी मुलुक कङ्गोबाट ल्याइएको अधिकारीहरुले बताएका छन्।
भियतनाममा हात्तीको दाँत खरिद बिक्री गर्न निषेध गरिए पनि कानुनको कमजोर कार्यान्वयनका कारण विश्वव्यापी रुपमै निषेध गरिएका यस्ता वस्तुहरु कालो बजारमा खुलेआम बिक्री हुने गरेको छ।
बढ्दो अन्तर्राष्ट्रिय दबाबपछि भियतनाम सरकारले वन्यजन्तुको अवैध व्यापारमा कडाइ गर्ने प्रतिबद्धता जनाएको छ। भियतनामका सरकारी अधिकारीहरुले पछिल्ला वर्षमा दानाङ सहरमा पनि छापा मारिएको बताएका छन्।
'काठभित्र लुकाएर शंकास्पद वस्तु ल्याएको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्दा ९ टन हात्तीका दाँत भेटिए,' भियतनामको भन्सार प्रशासनले जनाएको छ।
हात्तीका दाँत लुकाएको काठ मङ्गलबार दानाङको मुख्य बन्दरगाहमा भेटिएको थियो। यो काठ मध्य अफ्रिकी मुलुक कङ्गोबाट आएको थियो।
हात्तीका दाँत, बङ्गारा र अन्य हाडखोरहरु भियतनाममा गहना बनाउन, घरका सजावटका सामान तयार पार्न तथा परम्परागत औषधि बनाउन प्रयोग हुन्छ। भियतनाम हुँदै अवैध वन्यजन्तु चीन समेतका अरु मुलुकहरु पनि पुग्ने गरेको अनुसन्धानबाट खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।