सियोल- दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका लागि आगामी अप्रिल १० मा वासिङ्टन डिसी जाने भएका छन्।
दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका अनुसार दुई नेताबीचको भेटवार्तामा मुख्य रुपमा हाल अवरुद्ध रहेको उत्तर कोरियासँगको आणविक निःशस्त्रीकरणका विषयमा छलफल हुनेछ। उत्तर कोरियाका विषयमा अमेरिकी राष्ट्रपतिसँग राष्ट्रपति मुनको यो सातौं वार्ता हो।
भियतनामको हनोईमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको बहुचर्चित वार्ता भङ्ग भएपछि दुई नेताबीच पहिलो पटक भेटवार्ता हुन लागेको हो।
'कोरियाली प्रायःद्वीपमा पूर्ण आणविक निःशस्त्रीकरण सम्पन्न गर्नेतर्फ अमेरिकी राष्ट्रपति र दक्षिण कोरियाली राष्ट्रपतिले पुनः घनीभूत छलफल गर्नुहुनेछ। भेटवार्तामा कोरिया र अमेरिकाबीचको पारम्परिक सम्बन्धलाई थप सुदृढ गर्ने उपायहरुको पनि खोजी हुनेछ,' दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीचको हनोई वार्ता आणविक निःशस्त्रीकरण पहिले कि उत्तर कोरियामाथि लागेका प्रतिबन्धहरु फुकुवा पहिले गर्ने भन्ने विषयमा मतभिन्नता भएपछि भङ्ग भएको थियो। तर उत्तर कोरियाले आफ्नो मुलुकमाथि लागेका प्रतिबन्धहरु आंशिक फुकुवा गर्न मात्र आग्रह गरिएको बताउँदै आएको छ। अमेरिकाले भने उत्तर कोरियाले सबै प्रतिबन्धहरु तत्काल फुकुवा हुनुपर्ने अडान राखेपछि वार्ताको औचित्य सकिएको बताएको थियो।
हनोई वार्तापछि आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको सम्पूर्ण प्रक्रिया समाप्त नभएको र आफू अझै पनि वार्ता हुनेमा सकारात्मक रहेको बताएका थिए।
उत्तर कोरियासँग सम्बन्ध सामान्यीकरणमा केन्द्रित गरिरहेको दक्षिण कोरियाले अन्तर–कोरियाली परियोजनाहरु पनि अघि बढाएको छ। दक्षिण कोरियाका यी परियोजनाले अमेरिकासँगको सम्बन्धमा तिक्तता आउने सम्भावना पनि छ।
सियोलले संयुक्त राष्ट्रसंघकै संरचनाभित्र रही उत्तर कोरियाको सीमावर्ती सहर काइसोङमा रहेको औद्योगिक क्षेत्र पुनः खुला गर्ने तयारी थालेको छ। साथै उत्तर कोरियाको माउन्ट कुमगाङमा पर्यटन कार्यक्रम पुनः सुरु गर्न पनि सियोलले पहल गरिरहेको छ।
राष्ट्रपति मुन र उत्तर कोरियाली नेता किमले गत वर्ष तीन पटक भेटघाट गरेका थिए। उत्तर कोरियाली नेता किमले दक्षिण कोरियाको भ्रमण गर्ने यसअघि घोषणा गरिए पनि त्यस्तो मितिको अझै टुङ्गो लागेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।