काठमाडौं– बुधबार साँझ राजधानीको कमलादीमा गोली चलेको छ । खाजा खाएको बिलको विवादमा गोली चलेको खुलेको छ।
प्रज्ञा भवन छेउमा रहेको गण्डकी खाजा घरमा खाजा खाएपछि दुई युवकले पैसा तिर्ने बेलामा धेरै बिल भएको भन्दै थर्काएको र त्यसपछि गोली चलाएको प्रहरीले जनाएको छ ।
गोली हानेर भाग्ने क्रममा दुई जनालाई महानगरीय प्रहरी वृत्त कमलपोखरीले पेस्तोलसहित पक्राउ गरेको छ।
'गोली हान्नेहरु पक्राउ परिसकेका छन् । कसैलाई लागेको भने छैन', महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीले भने ।
बिल २२ सय रुपैयाँ उठेपछि दुई युवकले खाजा सञ्चालकसँग झगडा गरेका थिए । त्यही क्रममा उनीहरु आफूहरुलाई सादा पोशाकको प्रहरी बताउँदै गोली चलाएर भागेका थिए । भाग्ने क्रममा कमलादी गणेशस्थानबाट उनीहरुलाई पक्राउ गरेको र सोधपुछ भइरहेको एसपी जोशीले बताए।
पक्राउ परेका अभियुक्तहरु भारतीय सुटर भएको र उनीहरुलाई कमलपोखरी वृत्तमा राखेर सोधपुछ गरिरहेको प्रहरीले बताएको छ।
मंगलबार मात्र काठमाडौं आएका थिए भारतीय सुटर
कमलादी गोलीकाण्डमा पक्राउ परेका दुई भारतीय नागरिक सार्पसुटर भएको प्रहरीले पुष्टि गरेको छ । उनीहरु मंगलबार मात्र नेपाल आएका थिए । सुनौली नाका हुँदै उनीहरु काठमाडौं आएका थिए।
पञ्जावको लुधियाना घर भएका जसवन्त सिंह र देवेन्द्र सिंहलाई प्रहरीले गोली हानेर भाग्दै गर्दा पक्राउ गरेको हो । कमलादीको हेरिटेज प्लाजामा बसेका उनीहरुले आफूहरु प्रहरी भएको भन्दै गोली चलाएर भागेका थिए । होटलको बिलका साथै एक युवतीसँग विवाद भएपछि उनीहरुले गोली चलाएको खुलेको छ।
कुनै व्यक्तिको हत्याकै योजना लिएर उनीहरु काठमाडौं आएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । उनीहरुबाट अत्याधुनिक पेस्तोल र गोली प्रहरीले बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।