नयाँ दिल्ली (एजेन्सी)– भारतीय क्रिकेट टिमका तीव्र बलर जाहिर खान बलिउड नायिका सागरिका घाटगेसँग नोभेम्बर २७ मा वैवाहिक बन्धनमा बाँधिने भएङ्का छन् । दुवैले २४ अप्रिलमा कुरा छिनेर सोसल मिडियामा फोटो पोस्ट गरेका थिए।
दुवैले विवाहको कुरालाई गुपचुप राखेका थिए । भर्खरै दिएको एक अन्तर्वार्तामा भने सागरिकाले जाहिरसँगको सम्बन्धबारे थुप्रै कुरा सार्वजनिक गरेका छन्।
अन्तर्वार्तामा सागरिकाले भनेकी छिन्, ‘जाहिर र म दुवै मराठी हौं । तर, मलाई मराठी बोल्न आउँदैन, जाहिरलाई भने राम्रोसँग आउँछ । मेरो परिवार क्रिकेटका सौखिन भएकाले जाहिरलाई मन पराउँछन्।’
जाहिरले सागरिकासँग विवाह गर्ने कुरा आफ्नो परिवारका सदस्यलाई बताउँदा उनीहरुले पहिले उनी अभिनीत फिल्म ‘चक दे इन्डिया’ हेर्न चाहेका थिए । परिवारले फिल्म हेरिसकेपछि जाहिरलाई विवाहको स्वीकृति दिएका थियो।
जाहिर र सागरिकाले लामो समय डेटिङ गरेका थिए । युवराज सिंह र हेजलको विवाहमा पनि उनीहरु सँगै देखिएका थिए । यसपछि मात्र उनीहरुको सम्बन्धको विषयमा चर्चा चलेको थियो । इन्डियन क्रिकेट लिग (आइपिएल) मा जाहिरलाई समर्थन गर्न सागरिका रंगशालामा देखिने गरेकी थिइन्।
सागरिका मोडल हुँदै अभिनेत्री बनेकी हुन् । उनको पहिलो फिल्म ‘चक दे इन्डिया’ मा उनी हकी खेलाडीको भूमिकामा थिइन् । फिल्म सुपरहिट भएपछि उनको पनि पहिचान बनेको थियो । हालसम्म उनले ७ वटा फिल्ममा काम गरिसके पनि त्यसमा खासै प्रभाव जमाउन सकेकी छैनन्।
जाहिर टिम इन्डियाका स्टार बलर हुन् । २०११ मा भारतले विश्वकप जित्दा उनी टिमको महत्वपूर्ण सदस्य थिए । खेलबाट सन्यास लिइसकेका जाहिर पछिल्लो समय कमेन्टेटरका रुपमा देखिन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।