काठमाडौं– एएफसी यू–१९ च्याम्पियनसिप अन्तर्गत समूह 'ए' को छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले बिहीबार बहराइनसँग प्रतिस्पर्धा गर्दै छ। खेल नेपाली समयअनुसार बिहीबार दिउँसो ४ बजेर ४५ मिनेटमा सुरु हुनेछ।
पहिलो खेलमा घरेलु टिम किर्गिस्तानसँग पराजित भएको नेपालका लागि छनोट यात्रा जीवित राख्न बहराइनलाई हराउनै पर्ने बाध्यता छ। बहराइनले समूहमा पहिलो खेल नेपालविरुद्ध खेल्दैछ।
मंगलबार भएको पहिलो खेलमा नेपाल घरेलु टिम किर्गिस्तानसँग २–० ले पराजित भएको थियो। समूहको अर्को खेलमा युएईले ओमानलाई ५–१ को फराकिलो अन्तरले हराएको थियो।
एएफसी यू–१९ च्याम्पियनसिपमा छनोट समूह 'ए' मा नेपालसहित युएई, ओमान, बहराइन र आयोजक किर्गिस्तान गरी पाँच टिम छन्। समूहमा शीर्ष स्थान हात पार्ने टिम एक वर्षपछि इन्डोनेसियामा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा छनोट हुनेछ। दोस्रो स्थान हात पार्ने टिमको पनि छनोट हुने सम्भावना हुनेछ।
नेपालको तेस्रो खेल १८ कात्तिकमा युएईसँग र चौथो खेल २२ कात्तिकमा ओमानसँग छ। सन् २०१८ को अक्टोबरमा इन्डोनेसियामा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा १६ टिमबीच प्रतिस्पर्धा हुनेछ। जहाँ १० वटा समूहको शीर्ष १० टिम तथा दोस्रो स्थान हात पारेका ५ टिम छानिनेछन्। इन्डोनेसिया भने आयोजकको रुपमा छनोट भइसकेको छ।
नेपाली टिम
अर्पण कार्की (कप्तान), प्रेजेन तामाङ, अभिषेक बराल, विश्वास उदास, असिम भुसाल, विकास खवास, राजन गुरुङ, सुमन अर्याल, आकाश श्रेष्ठ, निराजन महर्जन, रोमन लिम्बू, अशोक थापा, दिनेश हेम्जन, अभिषेक रिजाल, अनिल महर्जन, सेसेहाङ आङदेम्बे, अरिक विष्ट, रेजिन सुब्बा, धीरज श्रेष्ठ, सुरज ठकुरी, राजेश परियार, मनिष थापा, सोजित गुरुङ
मुख्य प्रशिक्षक - छिरिङ लोप्साङ गुरुङ
सहायक प्रशिक्षक - पुष्कर शाही
गोलकिपर प्रशिक्षक - मृगेन्द्र मिश्र
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।