नयाँ दिल्ली (एजेन्सी)– यही नोभेम्बर २७ मा भारतीय क्रिकेट टिमका तीब्र बलर जहिर खान बलिउड नायिका सागरिका घाटगेसँग वैवाहिक बन्धनमा बाँधिदै छन्। दुबैले २४ अप्रिलमा कुरा छिनेर सोसल मिडियामा फोटो पोस्ट गरेका थिए।
दुबैले विवाह गर्ने कुरालाई गुपचुप राखेका थिए। तर, विवाह भने धुमधामसँग हुँदैछ। भर्खरै दिएको एउटा अन्तर्वार्तामा सागरिकाले जाहिरसँगको सम्बन्धको विषयमा थुप्रै कुरा सार्वजनिक गरेका छन्।
अन्तर्वार्तामा सागरिकाले भनेकी छिन्, ‘जाहिर र म दुबै मराठी हौं। तर, मलाई मराठी बोल्न आउँदैन। जाहिरलाई भने राम्रोसँग मराठी बोल्न आउछ। मेरो घर परिवार क्रिकेटका सौखिन हुन्। जाहिरलाई यस कारण पनि मन पराउँछन्, उनी राम्रोसँग मराठी बोल्छन्। मेरो आमालाई पनि मराठी बोल्न आउँदैन्। तर, जाहिरले मराठीमा कुरा गर्दा उनलाई रमाइलो अनुभूति हुन्छ।’
जाहिरले सागरिकासँग विवाह गर्ने कुरा आफ्नो घर परिवारलाई बताउँदा पहिले परिवारका सदस्यले ‘चक दे इन्डिया’ हेर्ने आग्रह गरेका थिए। फिल्मको सिडी मगाएर पुरै हेरिसकेपछि मात्र परिवारले विवाहको स्विकृति जाहिरलाई दिएका थिए।
जाहिर र सागरिकाले लामो समय डेटिङ गरेका थिए। युवराज सिंह र हेजलको विवाहमा पनि उनीहरु सँगै देखिएका थिए। यसपछि मात्र उनीहरुको सम्बन्धको विषयमा हल्ला चलेको थियो। इन्डियन क्रिकेट लिग (आइपिएल) मा जाहिरलाई समर्थन गर्न सागरिका रंगशालामा देखिने गरेकी छिन्।
सागरिका मोडलिङ हुँदै अभिनेत्री बनेकी हुन्। उनको पहिलो फिलम ‘चक दे इन्डिया’ मा उनी हकी खेलाडीको भूमिकामा थिइन्। फिल्म सुपरहिट भएपछि उनको पनि पहिचान बन्यो। हालसम्म उनले ७ वटा फिल्ममा काम गरिसकेकी छिन् तर त्यसमा खासै प्रभाव जमाउन सकेकी छैनन्। जाहिर टिम इन्डियाका स्टार बलर हुन्। २०११ मा भारतले विश्वकप जित्दा उनी टिमको महत्वपूर्ण सदस्य थिए। यति बेला जाहिर खेलमा कमेन्ट्री मात्र गरेको देखिन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।