एजेन्सी- पहिलो स्थान : लियोनल मेसी, दोस्रो स्थान : लियोनल मेसी र तेस्रो स्थान : लियोनल मेसी।
बार्सिलोनाले विश्वभरबाट आफ्नो क्लबको उत्कृष्ट गोलको भोटिङ गराउदा मेसीका गोलले शीर्ष तीन स्थान ओगोट्यो।
समर्थकलाई क्लबको इतिहासमा कुन गोल उत्कृष्ट भन्ने दिइएको अप्सनमा मेसीले गरेका तीन गोल शीर्ष स्थानमा परेका हुन्।
सन् २००६-०७ को सिजनमा मेसीले गेटाफेविरुद्ध गरेको गोल इतिहासकै उत्कृष्ट भएको ठहरियो। उनले सो गोल कोपा डेल रेको सेमिफाइनलमा गरेका थिए। गेटाफेका चार डिफेन्डरलाई छक्काउदै गरेको गोलले ४५ प्रतिशत भोट पाएको थियो। यो गोललाई अर्जेन्टिनाका पूर्व फरवार्ड डिएगो म्याराडोनाले सन् १९८६ को विश्वकपमा इंग्ल्यान्डविरुद्ध गरेको गोलसँग तुलना गरिएको छ।
बार्सिलोनाका लागि धेरै रेकर्ड बनाइसकेका मेसीले अहिलेसम्म ६ सय ७३ खेलमा ५ सय ९१ गोल गरिसकेका छन्।
यस्तै मेसीले सन् २०१४-१५ मा एट्लेटिको म्याड्रिडविरुद्ध कोपा डेल रेको फाइनलमा गरेको गोल भोटिङमा दोस्रो स्थानमा रह्यो। सो गोलले २८ प्रतिशत भोट पायो। यसैगरी मेसीले सन् २०१०-११ मा रियल म्याड्रिडविरुद्ध गरेको गोलले १६ प्रतिशत भोट पाउँदै तेस्रो स्थानमा रह्यो।
बार्सिलोनाको उत्कृष्ट गोलको चौथो स्थानमा सेर्जी रोबर्टोको गोल रह्यो। रोबर्टोले २०१७ मा पिएसजीविरुद्ध च्याम्पियन्स लिगको खेलमा गरेको गोल चौथो स्थानमा रह्यो।
भोटिङमा १ सय ६० देशका ५ लाख बढी बार्सिलोनाका फ्यानले भाग लिएका थिए। जहाँ फ्यानहरुले ६३ गोललाई भोट दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।