काठमाडौं- मंसिर १० र २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुनेबारे विभिन्न आशंका भइरहँदा निर्वाचन आयोगले निर्वाचन स्थगित नहुने स्पष्ट पारेको छ।
सर्वोच्च अदातलको आदेशको सम्मान गर्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलग-अलग मतपत्र छाप्ने काम सुरु भइसकेको र निर्वाचनका तयारी अन्तिम चरणमा पुगेकाले निर्वाचन कुनै हालतमा स्थगित नहुने आयोगले बताएको हो।
राजधानीको कान्तिपथस्थित आयोग परिसरमा विशेष पत्रकार सम्मेलनमा प्रमुख आयुक्त अयोधीप्रसाद यादवले निर्वाचन समयमै सम्पन्न गराउन सरकार र सम्बद्ध सबै पक्षबाट आयोगलाई सहयोग भइरहेको भन्दै निर्वाचन रोकिने द्विविधामा नपर्न सबैलाई आग्रह गरे।
'आयोगले अलग-अलग मतपत्र छाप्ने काम सुरु गरिसकेको छ, अन्य तयारी पनि अन्तिम चरणमा छ । सरकारले पनि आयोगलाई समयमै चुनाव सम्पन्न गर्न सहयोग गरिरहेको अवस्थामा चुनाव नहुने द्विविधामा पर्नुहुँदैन', उनले पत्रकार सम्मेलनमा भने।
आयोगले मंसिर २१ गते ४५ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्न सम्पूर्ण तयारी पूरा भइसकेको बताएको छ। प्रतिनिधिसभा निर्वाचनका १ सय २८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २ सय ५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ बिहीबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ।
'उम्मेदवारी दर्ताका लागि सम्पूर्ण तयारी भइसकेको छ । बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिन्छ,' प्रमुख आयुक्त यादवले भने।
शीर्षस्थ नेताहरुको समेत उम्मेदवारी दर्ता हुने भएकाले आयोगले सुरक्षा व्यवस्था बलियो बनाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ । संविधान कार्यान्वयनका लागि निर्वाचन महत्वपूर्ण भन्दै आयोगले निर्वाचन प्रक्रिया शान्तिपूर्ण रुपमा पूरा गर्न सबै राजनीतिक दलहरुलाई आग्रह गरेको छ।
यस्तै, आयोगले आचारसंहिताको पूर्ण पालनाका लागि पनि दलहरुलाई अनुरोध गरेको छ । आचारसंहिता कार्यान्वयनबारे कडा रुपमा अनुगमन गर्न मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई आयोगले निर्देशन दिएको छ।
निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम समेत नयाँ तय गरेको बताएको छ। सर्वोच्च अदालतले अलग-अलग मतपत्र प्रकाशन गर्न भनेपछि मतपत्रको ढाँचा नयाँ बनाएर जनतालाई बुझाउनुपर्ने बाध्यता आयोगलाई छ । यसअघि १६ भाषामा तयार गरिएको मतदाता शिक्षालाई परिमार्जन गर्ने काम पनि सम्पन्न भएको आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।