काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राडा गोविन्द केसीले अदालतको गलत नेतृत्वका कारण न्याय बिक्री भएको बताएका छन्।
सर्वोच्च अदालतका पछिल्ला फैसलातर्फ इंगित गर्दै डा केसीले सबैले सम्मान गर्नुपर्ने अदालत माफियाको इसारामा चलेको आरोप लगाए। 'जनताको अधिकार र संविधानको मर्मविपरीत फैसला हुँदा तीन करोड नेपालीको स्वास्थ्यमा खेलबाड भएको छ,’ नेपाल लाइभसँग कुरा गर्दै उनले भने, ‘अबको मेरो लडाइँ न्यायपालिकाको नेतृत्वविरुद्ध हुनेछ।’
आजै मात्र सर्वोच्च अदालतले काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने त्रिभुवन विश्वविद्यालयको निर्णय कार्यान्वयनमा रोक लगाउने आदेश गरेको छ। बर्खास्तीमा परेका नेपाल आयल निगमका गोपाल खड्का, साझा प्रकाशनका डोलिन्द्र शर्मालाई पुनर्बहाली गर्न आदेश दिएको सर्वोच्चले काठमाडौं नेसनलको सम्बन्धन तत्काल खारेज नगर्न आदेश दिएको हो। मेडिकल कलेजको सम्बन्धन खोस्नु प्राकृतिक न्यायको सिद्धान्त विपरीत भएको व्याख्या गर्दै सर्वोच्चले अन्तरिम आदेश दिएको हो।
डा गोविन्द केसीले १२औं अनसनका क्रममा काठमाडौं नेसनलको सम्बन्धन खारेज नभए आमरण अनसन गर्ने चेतावनी दिएका थिए।
केसी चिकित्सा क्षेत्रको बेथिति अन्त्य र सुधारको माग राख्दै पटक पटक अनसन बस्दै आएका छन्। कात्तिक १ गते सरकारसँगको १० बुँदे सहमतिपछि उनले १३ औं अनसन तोडेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।