एजेन्सी- आतंकवाद सम्बन्धी बृहत् तथ्यांक राख्ने अमेरिकी फाउन्डेसनले स्वदेशी नागरिकबाटै अमेरिकामा आतंकवादी घटना बढेको तथ्यांक सार्वजनिक गरेको छ । सन् २००१ सेम्टेम्बर ११ यताका आतंककारी घटनामा अमेरिकी नागरिककै बढी संलग्नता रहेको प्रतिवेदनमा उल्लेख छ।
सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा पहिलो पटक आतंकवादी हमला भएको थियो । त्यसयता हालसम्म अमेरिकामा दर्जनौं आतंकवादी हमला भएका छन् । अमेरिकी फाउन्डेसनको तथ्यांक अनुसार, इस्लामिक कट्टरपन्थीले गराएका १२ घटनामा हालसम्म एक सयभन्दा बढीको मृत्यु भएको छ।
आतंकवादी आक्रमण गर्नेमा अमेरिकी नागरिक वा अमेरिकामा कानुनी रुपमा बसोबास गर्दै आएका व्यक्ति छन् । एक सय जनाभन्दा बढीको ज्यान जानेगरी भएको विभिन्न हमलामा ३ सय ९६ जना आतंककारीको संलग्नता पुष्टि भइसकेको छ।
'आक्रमणमा संलग्न ३ सय ९६ मध्ये ८३ प्रतिशत अमेरिकी नागरिक छन् भने १७ प्रतिशत विभिन्न देशबाट आएर यहाँ बसिरहेकाहरु छन्', अमेरिकी फाउन्डेसनको प्रतिवेदनमा भनिएको छ।
आक्रमणमा आफ्नै नागरिकको संलग्नता बढिरहेका बेला ट्रम्प प्रशासन जिहादिस्तबाट खतरा रहेको अनर्गल प्रचार गरिरहेको छ । तर, अमेरिकी फाउन्डेसनले भने इरान, इराक, लिबिया, सोमालिया, सिरिया, सुडान र यमनबाट अमेरिका छिरेका जिहादिस्त आप्रवासीबाट अमेरिकालाई कुनै चुनौती नरहेको तर्क गरेको छ।
'ट्रम्प प्रशासन जिहादिस्तलाई दोष लगाउँछ, तर आतंकवादमा संलग्न आफ्नै नागरिकबाट अमेरिकालाई चुनौती छ', अमेरिकी फाउन्डेसनको प्रतिवेदन भन्छ।
अमेरिकामा सन् २०१३ देखि आतंकवादी हमला बढेको छ । सिरियामा चर्किएको द्वन्द्व र इस्लामिक स्टेट विरुद्ध अमेरिकाले लिएको कठोर नीतिपछि अमेरिकी भूमिमा आतंकवादी आक्रमण बढेको हो । ट्रम्प प्रशासनको पालामा आतंकवादी घटना अझ बढ्ने अमेरिकी गुप्तचर संस्था सिआइएका अधिकारीहरुको दाबी छ।
सिआइएका पूर्व कर्मचारी इभान म्याकुलिन आतंकवादी आक्रमणको दोष विनाप्रमाण आप्रवासीलाई लगाउने ट्रम्पको शैली कच्चा भएको र यस्ता गतिविधि नरोकिए आतंकवादी आक्रमण अझ बढ्ने बताउँछन्।
'ट्रम्पले नजानेर हो वा घृणा भएर हो, अमेरिकामा भएका आक्रमणको दोषी आप्रवासी मुस्लिमहरुलाई नै ठान्छन् । उनले यस्तो कार्य नरोके अमेरिका अझै असुरक्षित हुनेछ', द न्युयोर्करसँगको कुराकानीमा उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।