काठमाडौं- सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीद्वय तथा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई अदालतको अवहेलनामा उपस्थित हुन आदेश जारी गरेको छ।
न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलाशले निर्वाचन नजिकिँदै गर्दा दाहाल र ओलीलाई अदालत उपस्थित हुन आज आदेश जारी गरेको हो। अदालतमा विचराधीन मुद्दाका विषयमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आलोचना गरेका थिए। राष्ट्रिय जनता पार्टीका सहमहामन्त्री सर्वेन्द्रनाथ शुक्लाले सोही विषयलाई लिएर अदालतको अवहेलना मुद्दा हालेका थिए।
सर्वोच्चले पहिलो सुनुवाइ गर्दै ओली र दाहाललाई अदालत धाउन आदेश दिएको हो।
विचराधीन मुद्दामा प्रभाव पार्ने कार्य गरेमा अवहेलनामा कारबाही हुने सर्वोच्च अदालत नियमावलीमा उल्लेख छ। अवहेलना ठहर भएमा एक वर्ष कैद र १० हजार जरीवाना हुन्छ। अवहेलना ठहर हुनुलाई फौजदारी अभियोगको रुपमा लिइन्छ।
यसअघि अलग-अलग मतपत्र छाप्ने विषयमा सर्वोच्चले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको थियो। सर्वोच्चको संयुक्त इजलाशले दिएको आदेश पुन: एकल इजलाशले सम्झाएको थियो। एकल इजलाशले पुन: ध्यानाकर्षण गराएपछि वाम गठबन्धनले राजधानीमै पत्रकार सम्मेलन गरी त्यसको आलोचना गरेका थिए।
उनीहरुले संयुक्त इजलाशभन्दा एकल इजलाश सक्रिय भएको आरोप लगाएका थिए। पत्रकार सम्मेलनलाई चुनौती दिँदै शुक्लाले १३ गते अवहेलना मुद्दा हालेका हुन्।
शुक्लाको यो दोस्रो अवहेलना मुद्दा हो। यसअघि उनले निर्वाचन आयोगका प्रमुख आयुक्त र सरकारविरुद्ध पनि अवहेलना मुद्दा हालेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।