काठमाडौं– नेपाल क्रिकेट संघ –क्यान) अन्तर्गत रहेका ३७ वटा जिल्ला क्रिकेट संघको निर्वाचन भएको छ । क्यानको संशोधित विधान अनुसार जिल्ला क्रिकेट संघमा निर्वाचन सम्पन्न भएका हुन्।
क्यानमा आबद्ध ३९ जिल्लामध्ये २ क्रिकेट संघमा भने विवादका कारण निर्वाचन हुन सकेको छैन । ललितपुर र भक्तपुरमा विवादका कारण निर्वाचन हुन नसकेको हो।
क्यानको संशोधित विधान अनुसार जिल्ला क्रिकेट संघको निर्वाचन कात्तिक ८ भित्र गरिरसक्नुपर्ने व्यवस्था छ । क्यानका महासचिव अशोकनाथ प्याकुरेलका अनुसार, अधिकांश जिल्लामा निर्वाचन सम्पन्न भएका पत्रहरु प्राप्त भइरहेका छन्।
ललितपुरका अध्यक्ष नरेश राणाले पत्र अवैधानिक तवरले आएको भन्दै यथास्थितिमा निर्वाचन नगर्ने नेपाल लाइभलाई बताए।
'निर्वाचनका लागि पठाइएको पत्रमा रीत नै पुगेको नदेखेकाले हामीले चुनाव नगराएका हौं । तर हामी छलफलमै छौं', राणाले भने, 'अन्य जिल्लाले के गरे, मलाई थाहा भएन।'
अन्य जिल्ला क्रिकेट संघहरुले भने सोही व्यहोराको पत्रका आधारमा निर्वाचन भएका थिए । भक्तपुरमा पनि विवाद बढेपछि निर्वाचन हुन सकेको छैन । भक्तपुर क्रिकेटमा रत्नहरि प्रधानांग अध्यक्ष छन्।
क्यानका महासचिव प्याकुरेलले निर्वाचन नगर्ने जिल्ला क्रिकेटलाई विधान अनुसार निलम्बन पर्ने बताए । 'संशोधित विधान अनुसार सबै जिल्लामा निर्वाचन गर्नुपर्ने व्यवस्था छ । निर्वाचन नभए विधान अनुसार कारबाहीको प्रक्रिया अघि बढ्छ', उनले भने।
जिल्ला संघको निर्वाचनपछि अब प्रदेश क्रिकेट संघको निर्वाचन हुनेछ । प्रदेश क्रिकेट संघको निर्वाचनका लागि प्रत्येक जिल्लाबाट ४–४ प्रतिनिधि छनोट भइसकेका छन् । प्रदेश संघको निर्वचान ८ मंसिरभित्र गरिसक्नुपर्नेछ।
प्रदेशको निर्वाचन सकिएपछि क्यानको केन्द्रीय समितिको निर्वाचन हुनेछ । पुस ९ भित्र क्यानले नयाँ नेतृत्व पाउनेछ । संशोधित विधान अनुसार केन्द्रीय समिति १७ सदस्यीय, प्रदेश १३ सदस्यीय र जिल्ला १५ सदस्यीय हुने व्यवस्था छ।
केन्द्रीय समितिको निर्वाचनका लागि एक जिल्लाबाट एक प्रतिनिधि आउनेछन् । यस्तै, प्रदेश संघबाट प्रत्येक २ जिल्ला बराबर १ प्रतिनिधिले केन्द्रीय समितिमा भाग लिन पाउनेछन् । क्यानको संशोधित विधानमा हालको १७ सदस्यीय कार्यसमितिका सदस्यले साधारणसभामा मताधिकार पाउने छैनन् । तर, उनीहरुले निर्वाचनमा उठ्न भने पाउने व्यवस्था छ।
अन्तरिक विवाद र सरकारी हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले क्यानलाई ०७३ बैशाखमा निलम्बन गरेको थियो । त्यसपछि आइसिसीले विवाद समाधानका लागि सल्लाहकार समूह गठन गरेको थियो ।
समूहले विवाद समाधानका लागि एक वर्ष लगाएर विधान बनाएको थियो । समूहले बनाएको विधानलाई क्यानको विशेष साधारणसभाले संशोधनसहित गत भदौमा पारित गरेको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भदौ २६ गते क्यानको संशोधित विधानलाई स्वीकृति प्रदान गरेसँगै विधान लागू भएको थियो।
राखेपले उक्त विधान आइसिसीमा पठाइसकेको छ । आइसिसीले संशोधित विधानलाई स्वीकृति दिए क्यानमाथि लाग्दै आएको निलम्बन फुकुवा हुनेछ।
कुन जिल्लामा को बने अध्यक्ष ?
प्रदेश १
इलाम – मानबहादुर राई
झापा – लाक्पा लामा
मोरङ – सुनिलकुमार पौडेल
सुनसरी – चेतनाथ पौडेल
उदयपुर – शम्भुप्रसाद शर्मा
प्रदेश २
धनुषा – हीरा भगत
सप्तरी – शैलेशकुमार चौधरी
सिराहा – सुनिलकुमार महासेठ
सर्लाही – माधव कर्माचार्य
महोत्तरी – रोशन सिंह
रौतहट – पवन साह
बारा – प्रभात चौरसिया
पर्सा – मोहम्मद दाउद अन्सारी
प्रदेश ३
चितवन – कैलाश प्रधान
मकवानपुर – संजोग पोखरेल
काठमाडौं – दिवाकर घले
भक्तपुर – निर्वाचन नभएको
ललितपुर – निर्वाचन नभएको
नुवाकोट – दुर्गाराज पाठक
प्रदेश ४
नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) – प्रकाश पौडेल
स्याङ्जा – दिपानु पोखरेल
कास्की – सञ्जयकान्त सिग्देल
तनहुँ – ताराराम श्रेष्ठ
प्रदेश ५
नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) – कृष्णप्रसाद श्रेष्ठ
पाल्पा – राजेश श्रेष्ठ
कपिलवस्तु – प्रकाश गैरे
दाङ – प्रदीप मजगैयाँ
रुपन्देही – प्रशान्तविक्रम मल्ल
बाँके – दुर्गा थापा सेन
बर्दिया – विनयराज भण्डारी
प्रदेश ६
सुर्खेत – श्रीधर केसी
प्रदेश ७
कैलाली – रतनबहादुर कठायत
कञ्चनपुर – वीरेन्द्र चन्द
डडेलधुरा – हरिप्रसाद उप्रेती
अछाम – दिलबहादुर कुँवर
बझाङ – प्रविन्द्रबहादुर धामी
दार्चुला – देवेन्द्र भट्ट
बैतडी – लालबहादुर चन्द
डोटी – दिनेश सिंह
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।