म्यानचेस्टर– इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले ओले सोल्सायरलाई प्रशिक्षणमा नियुक्त गरेको छ। ४६ वर्षीय नर्वेजियन सोल्सायर गत डिसेम्बरमा म्यानचेस्टरको अन्तरिम प्रशिक्षमा नियुक्त भएका थिए। तत्कालिन प्रशिक्षक जोसे माउरिन्हो बर्खास्तगीमा परेपछि उनी अन्तरिम प्रशिक्षक बनेका थिए।
म्याचेस्टर युनाइटेडका पूर्व खेलाडी सोल्सायरले क्लबका लागि ११ सिजन खेलका थिए। सन् १९९९ को च्याम्पियन्स लिगको फाइनलमा उनले म्यानचेस्टरका लागि विजयी गोल गरेका थिए।
प्रशिक्षकमा नियुक्त भएपछि सोल्सायरले आफ्नो सपना पूरा बताएका छन्। 'मैले म्यानचेस्टरको प्रशिक्षक बन्ने सपना देखेको थिएँ। अब सपनार पूरा भएको छ। मैले क्लबको पूर्ण प्रशिक्षकको जिम्मेवारी पाएको छु। उत्साहित छु। म आएको पहिलो दिनदेखि नै मलाई घर जस्तो महसुस भएको थियो। म्यानचेस्टरको खेलाडीको रुपमा यहाँबाट करिअर सुरु गरेकोमा गर्व गर्छु। पछिल्लो केहि महिना मेरा लागि रमाइलो अनुभव रह्यो,' सोल्सायरले भनेका छन्।
सोल्सायरले अन्तरिम प्रशिक्षकको जिम्मेवारी सम्हाल्दा क्लब प्रिमियर लिगको छैटौं स्थानमा थियो। शीर्ष चारमा पर्न क्लब ११ अंकले टाढा थियो। तर पछिल्लो १३ खेलमा म्यानचेस्टरले १ खेलमा मात्र हार बेहोरेको छ। अंक तालिकाको पाँचौ स्थानमा रहेको म्यानचेस्टर चौथो स्थानको आर्सनल भन्दा २ अंकले मात्र पछि छ।
सोल्सायर अन्तरिम प्रशिक्षक बनेपछि लगातार ६ खेलमा क्लबले जित निकालेको थियो। युरोपियन च्याम्पियन लिगको अन्तिम १६ मा फ्रेन्च महारथी पिएसजीमाथि जित निकालेर म्यानचेस्टरले क्वार्टरफाइनलमा स्थान पक्का गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।