एजेन्सी- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले न्युयोर्क घटनामा मारिएका र घाइते भएकाहरुप्रति समवेदना प्रकट गर्न चार घन्टा लगाएका छन्।
घटना भएको चार घन्टापछि मात्रै उनले ट्विटरबाट समवेदना प्रकट गरेका थिए।
ह्वाइटहाउसबाट आएको समवेदनापत्रमा आतंकवादी हमलाको ट्रम्पले भर्त्सना गरेका छन्। आफ्नो प्रशासनले घटनाको जाँचबुझ गरी न्युयोर्कलाई सुरक्षित बनाउन आवश्यक रणनीति अपनाउने ट्रम्पको समवेदना पत्रमा उल्लेख छ। पत्रमार्फत उनले आतंकवादविरुद्ध लड्नका लागि एकजुट हुन अमेरिकी नागरिकलाई आग्रह गरेका छन्।

ट्रम्पले समवेदना प्रकट गर्न ढिलाइ गरेपछि उनको आलोचना हुन थालेको छ। पूर्वराष्ट्रपति बाराक ओबामाको शैलीसँग तुलना गर्दै उनको आलोचना भएको हो। ओबामाले घटना भएको केही क्षणमै समवेदना प्रकट गरी नागरिकहरुलाई सान्त्वना दिने गरेको तर राष्ट्रपति ट्रम्प त्यस्तो मामिलामा निकै कमजोर रहेको भन्दै उनको आलोचना बढेको हो।
ओबामाले पेरिसमा सन् २०१५ मा भएको आतंकवादी हमलाको भर्त्सना गर्दै तीन मिनेटको सदृश्य समवेदना दिएका थिए। समवेदनाको ओजपूर्ण शब्दले निकै तारिफ बटुलेको थियो। न्युयोर्कको रक्तपातमा ट्रम्पले तुरुन्तै समवेदना प्रकट गर्न नसक्दा उनलाई सुस्त र नागरिक उत्तरदायित्व नभएका राष्ट्रपति भन्दै विरोध हुन थालेको छ।
न्युयोर्क घटना पुष्टि भएको एक घन्टापछि ट्रम्पले ट्विट गरेका थिए भने उनको आधिकारीक विज्ञप्ति आउन दुई घन्टा लागेको थियो। स्थानीय समय अनुसार बिहान करिब २ बजे न्युयोर्कमा ट्रक ड्राइभरले साइकल लेनमा ट्रक कुदाएर ८ जनाको हत्या गरेका थिए। त्यस घटनामा ११ जना घाइते भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।