एक जना चर्चित वैज्ञानिक सिमोन ब्रुन्डिसलाई हालै 'विश्वका उत्कृष्ट फुटबलर को हुन्?' भनेर प्रश्न गरिएको थियो। 'यदि कोहि उत्कृष्ट फुटबलर जीवित छन् भने उनी लिओनल मेसी मात्र हुन्,' ब्रुन्डिसको उत्तर छ,' यदि तपाई मेसी बाहेक अन्य कोहि फुटबलर उत्कृष्ट छ भन्नु हुन्छ भने कि मेसीको खुट्टा एक वर्षदेखि भाँचिएको छ। अथवा मेसी मरिसकेका छन् वा तपाई झुट बोल्दै हुनुहुन्छ।'
हुन पनि स्पनेसि क्लब बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड मेसी महान् फुटबलर भएको उनको खेलबाट प्रमाणित गर्न सकिने अनेकौ आधार छन्। तर उनी कसरी महान् भए भन्ने भित्री कुरा धेरैलाई थाहा नहुन सक्छ। वैज्ञानिक ब्रुन्डिस मेसी उत्कृष्ट भएको पर्याप्त प्रमाण भएको र वादविवाद गर्नु अनुचित रहेको बताउँछन्।
'अहिले मेसीले हरेक ४८ मिनेटमा गोल वा गोलका लागि पास दिने गर्छन्,' ब्रुन्डिस भन्छन्,'सोझो हिसाब गर्ने हो भने प्रत्येक खेल इन्जुरी टाइमसमेत गरी ९५ मिनेटको हुन्छ। त्यसैले मेसीले प्रत्येक खेलमा २ गोल वा २ एसिस्ट गर्छन्।'
कोहिकोहि भने मेसीको दाँजोमा आउन सक्छन्। अझ भन्नु पर्दा मेसीलाई पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोसँग धेरै नै तुलाना गर्ने गरिएको छ। कहिलेकाँही रोनाल्डो गोल स्कोरिङ रेटमा अघि रहने गरेका पनि छन्। पछिल्लो समय लुइस सुआरेज, नेइमार, केलियन एमबाप्पे र मोहमद सलाहले पनि क्लब र राष्ट्रका लागि उत्कृष्ट गोल गर्ने गरेका छन्।
तर वैज्ञानिक ब्रुन्डिस मेसीले वर्तमान विश्व फुटबलमा वास्तविक वर्चश्व कामय गरेको दाबी गर्छन्। एक्सजी–बिउन्डको नयाँ प्राणालीमा मेसी गोल तथा अन्य रेकर्डमा अघि देखिएका हुन्। एक्सजी–बिउन्ड प्रणालीको आधारमा मेसीको अंक सार्वाधिक देखिएको छ।
गोलसँगै एसिस्टको मेट्रिक अंकका आधारमा मेसी अग्रपंक्तिमा छन्। उदाहरणका लागि यदि गोलकिपरले डिफेन्डरलाई पास दिन्छ। त्यसपछि उसले विंगरसँग बल खेल्न थाल्छ। त्यसपछि बल स्ट्राइकरको खुट्टामा पुग्छ। एक्सजी–बिउन्डमा गोलकिपर र डिफेन्डरलाई पनि अंक प्रदान गर्ने प्रणाली विकास गरिएको छ। गोल गर्नका लागि दिएको पाससम्म मैदानको भाग कभर गरेको र बल होल्ड गरेको आधार पनि नाप्ने गरिएको छ। जहाँ मेसी मैदान सर्वाधिक छाउने गरेको तथ्याङले देखाएको छ।
२०१७–१८ पूरा सिजनको फुटबल तथ्याङ्क अनुसार मेसी एक्सजी-बिउन्डमा संसारकै उत्कृष्ट प्लेमेकर देखिएका छन्। मेसीसँगै चेल्सीका इडिन हजार्ड, आर्सनलका मेसुट ओजिल र टोटनह्यामका क्रिस्टियन इरिक्सन पनि प्लेमेकरमा अघि रहेका छन्। मेसीले रोनाल्ड, सलाह र नेइमारलाई भने धेरै अंकले पछि परेको देखिएको छ।
सबै तथ्याङअनुसार मेसीको गोल, एसिस्ट र एक्सजी–बिउन्ड स्कोरको आधारमा विश्वको महान् खेलाडी को भनेर विवाद गर्नुको तुक नभएको वैज्ञानिक ब्रुन्डिस बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।