एथेन्स– युरोपियन च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको समूह 'डी' को खेलमा स्पेनिस क्लब बार्सिलोनालाई ग्रिसको ओलम्पियाकोसले गोलरहित बराबरीमा रोक्यो। बार्सिलोनाले पछिल्लो पाँच वर्षमा समूह चरणमा गोल गर्न नसकेको यो पहिलो पटक हो।
बार्सिलोनाले गोल गर्न नसकेको खेलका दौरान फ्यानहरु दुई पटक मैदानमा प्रवेश गरेका थिए। दुवै पटक फ्यानले बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेसीसँगलाई अंकमाल गरे।
कर्नर प्रहार गर्न गएको बेला एक फ्यान प्याराफिटबाट हाम फालेर मेसी नजिक पुगेका थिए। त्यस लगत्तै ती फ्यानले मेसीलाई अंकमाल मात्र गरेनन् चुम्बन पनि गरे। फ्यानको उक्त हर्कतलाई मेसीलाई सहज रुपमा लिएका थिए। लगत्तै मेसीले कर्नर प्रहार गरेका थिए।
खेलका दौरान अर्का एक फ्यानले मैदानमा पुगेर मेसीसँग अंकमाल गरेर सेल्फी खिचेका थिए।
फ्यान मात्र होइन ओलम्पियाकोसका एक मिडफिल्डरले मेसीप्रति अनुगृहीत रहँदै अंकमाल गरेका थिए। मिडफिल्डर पानागोइटिसले मेसीलाई बधाई दिने क्रममा आफू फ्यान भएको भन्दै अंकमाल गरेका हुन्।
दुवै फ्यानको कुनै कुनियत नभए पनि मैदानको सुरक्षा व्यवस्थालाई लिएर बार्सिलोनाले चिन्ता व्यक्त गरेको छ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।