ढाका, बङ्गलादेश- बङ्गलादेशको राज्य–सञ्चालित विमान कम्पनीले विमान अपहरण वा दुर्घटना गराउने षड्यन्त्र गरेको आरोपमा एक विमानचालक र तीन जना शङ्कास्पद व्यक्तिलाई मंगलबार पक्राउ गरेको छ।
बङ्गलादेशको जमायतुल मुजाहिद्दिन अतिवादी मुसलमान समूहका उच्च नेतासँग मिलेर यहाँका राजनीनिक नेताको घरमा ठोक्काउने वा यात्रुलाई बन्धक बनाउने साँठगाँठ गरेको आरोपमा बङ्गलादेश एअरलाइन्सका विमान चालक सविर इमामलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
गत वर्ष बङ्गलादेशको राजधानी ढाकास्थित एक रेस्टुरेन्टमा आक्रमण गरी १८ विदेशीसहित २२ जनाको ज्यान लिने उक्त अतिवादी मुसलमान समूहसँग सम्पर्क रहेको आशङ्कामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
र्यापिड एक्सन बटालियन प्रहरी इकाइका अनुसार सब्बिरले सन् २०१४ देखि विमान चालकका रूपमा काम सुरु गरी सोमबारसम्म बङ्गलादेशको राष्ट्रिय ध्वजाबाहक विमान कम्पनीमा काम गरेका थिए।
'उनी एक खतरनाक व्यक्ति रहेका र अतिसंवेदनशील ठाउँमा काम गरिरहेकामा सुरक्षाको दृष्टिकोणवाट उनलाई पक्राउ गरिएको छ,' प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
सब्बिरको जमायतुल मुजाहिद्दिन अतिवादी मुसलमान समूहको उच्च नेता सरवार जहाँ र यसअघि नै मारिएका अब्दुल्लाहसँग राम्रो सम्बन्ध रहेको पाइएको प्रहरीले बताएको छ।
उनीहरू (सब्बिर, सरवार र अब्दुल्लाह) ले विमान अपहरण गरी आक्रमण गर्ने षड्यन्त्र गरेका अनुसन्धानका क्रममा थाहा भएको प्रहरीले जनाएको छ।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।