बैङ्कक– थाइल्याण्डका सात पार्टीले बुधबार नयाँ गठबन्धन बनाएका छन्।
सन् २०१४ मा भएको सैनिक ‘कू‘ पछिको पहिलो निर्वाचन लगत्तै उनीहरूले गठबन्धन बनाएका हुन्। यही गठबन्धनले नै नयाँ सरकार बनाउने प्रयास गर्ने समाचारमा जनाइएको छ।
निर्वाचनको वैधानिकता र निश्पक्षतामाथि भने कतिपयले प्रश्न उठाइरहेकै बेला केही पार्टीहरुले गठबन्धन बनाएर सरकार बनाउने कसरत सुरु गरेका हुन्।
स्वेच्छिक निर्वासनमा रहेका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राको समर्थन रहेको फिउ थाई पार्टीसहित अन्य ६ पार्टी गठबन्धनमा छन्।
'हामीले सरकार बनाएर शक्तिको दुरुपयोग रोक्न चाहन्छौँ,' फिउ थाइको तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार सुदारात केयुराफानले पत्रकारहरुसँग भने।
उनले थपे, 'लोकतन्त्रको पक्षधर पार्टीहरूलाई नै जनताले साथ दिएका छन्, विश्वास गरेका छन्।'
गत आइतबार भएको मतदानको अन्तिम नतिजा भने औपचारिक र आधिकारिक रुपमा अहिलेसम्म पनि सार्वजनिक गरिएको छैन।
कुनै कारणबिना नै मतगणनाको पूर्ण परिणाम सार्वजनिक गर्न ढिलाइ गरेको भन्दै निर्वाचन आयोगको आलोचना भएको छ। निर्वाचन आयोगका अधिकारीले भने ‘मानवीय त्रुटीका कारण’ मतपरिणाम ढिलाइ भएको दाबी गरेका छन्।
यही बीचमा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले भने निर्वाचनमा ‘व्यापक धाँधली’ भएको आरोप लगाएका छन्।
सामाजिक सञ्जालमा अधिकांशले सिनावात्राको भनाइप्रति सहमति जनाएको देखिएको छ।
कतिपय स्वतन्त्र अन्तर्राष्ट्रिय पर्यवेक्षकले पनि ‘मतगणना पारदर्शी नभएको तथा मतपरिणाम निकै त्रुटिपूर्ण’ रहेको बताएका छन्। उनीहरूले अनुगमनका क्रममा देशव्यापी रूपमा मत किनबेच भएको थाहा पाएको जनाएका छन्।
सत्ताच्युत प्रधानमन्त्री थाक्सिन सिनावात्रा र सेना समर्थकहरूबीचको सत्ता संघर्षका कारण थाइल्यान्डमा केही वर्षयता राजनीतिक अस्थिरता रहेको छ।
कुल ७ सय ५० सिट रहेको थाइल्यान्डको संसदको तल्लो सदनमा ५ सय जना निर्वाचनमार्फत छानिन्छन् भने माथिल्लो सदनमा २ सय ५० सिटमा सेनाले सांसदहरू मनोनित गर्ने व्यवस्था रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।