काठमाडौं (एजेन्सी)– लेफ्ट ब्याक लेभिन कुर्जावा चम्किँएपछि नेइमार आवद्ध पेरिस सेन्ट जर्मेन (पिएसजी) पनि च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ।
मंगलबार राती कुर्जावाले ह्याट्रिक गरेका थिए। उनी च्याम्पियन्स लिगमा ह्याट्रिक गर्ने पहिलो डिफेन्डर बनेसँगै पिएसजीले एन्डरलेच्टलाई ५–० को भारी गोलअन्तरले पराजित गर्यो।
कुर्जावाले करिअरमा १७ गोल मात्र गरेका थिए, मंगलबारको खेल सुरु हुनुअघि। तर, उनले दोस्रो हाफको ५२, ७२ र ७८ मिनेटमा गोल गर्दै पहिलो ह्याट्रिक पुरा गरे।
यस खेलमा नेइमार र मार्को भेराटीले पनि गोल गरे। भेराटीले ३० र नेइमारले पहिलो हाफको निर्धारित पछि थप गरिएको ४ मिनेटमा गोल गरेका थिए।
समूह ‘बी‘ अन्तर्गत अर्को खेलमा वायर्न म्युनिखले पनि सेल्टिकलाई २–१ ले पराजित गर्ने क्रममा नकआउट चरणमा प्रवेश पायो। पिएसजीको ४ खेलबाट १२ अंक छ भने वायर्नले ९ अंक बटुल्दै दोस्रो चरणमा आफूलाई उभ्याएको हो।
कुर्जावाले च्याम्पियन्स लिगमा ह्याट्रिकको कीर्तिमान बनाएपछि यसको श्रेय सबै साथीहरुलाई दिए। ‘यो साथी भाईको कारण सम्भव भयो। सबै धन्यबादका पात्र छन्। म निकै खुसी छु।
यसले मेरो आत्मविश्वासलाई चुल्याएको छ,’ उनले खेल सकिएपछि भने। पिएसजीका राइट–ब्याक थोमर मेउनेरले पनि यही सिजन ह्याट्रिक गोल गरेका थिए, बेल्जियमका लागि गिब्राल्टर विरुद्ध। पिएसजीले समूह चरणको खेलमा सर्वाधिक गोल गर्ने कीर्तिमान पनि बनाएको छ। उसले ४ खेलमा १७ गोल गरिसकेको छ। यसअघि १९९८–९९ को सिजन म्यानचेस्टर युनाइटेडले समूह चरणको खेलमा १६ गोल गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।