एजेन्सी - सामाजिक सञ्जाल फेसबुकले पछिल्ला दुई वर्षयता रसियालीहरूले अपलोड गरेका सामग्री १२ करोड ६० लाख अमेरिकीले हेरेको हुनसक्ने जनाएको छ।
फेसबुकका अनुसार सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपति निर्वाचनअघि र पछि रसियाबाट ८० हजार पोस्ट (सामग्री) जारी भएको थियो।
रसियाबाट अपलोड गरिएका अधिकांश पोस्ट अमेरिकी समाजमा सामाजिक र राजनीतिक विभाजन ल्याउने खालका थिए।
अमेरिकाको सिनेटमा लोकप्रिय वेबसाइटमा रसियाली प्रभावबारे छलफल हुन लागेको बेला फेसबुकले रसियाबाट अपलोड गरिएका अमेरिकाविरोधी यस्ता पोस्टको तथ्यांक जारी गरेको हो।
रसियाले भने सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिको चुनाव प्रभावित गरेको आरोप अस्विकार गर्दै आएको छ । चुनावमा रिपब्लिकन डोनल्ड ट्रम्पले डेमोक्रेट हिलारी रोधम क्लिन्टनलाई पराजित गरी राष्ट्रपति भएका थिए।
फेसबुकले जारी गरेको तथ्यांकको पुष्टि अमेरिकी अखबार वासिङटन पोस्ट र बेलायती समाचार एजेन्सी रोयटर्सले गरेका छन्।
फेसबुकका अनुसार २०१५ जुनदेखि २०१७ अगस्टसम्म रसियाबाट फेसबुकमा ८० हजार पोस्ट भएका थिए।
फेसबुकले सरकारसँग जोडिएका रसियाली कम्पनीले ती पोस्ट गरेको जनाएको छ ।
गुगलले पनि रसियाली ट्रोलहरूले बेग्लाबेग्लै १८ च्यानलमा १ हजार भिडियो अपलोड गरेको जानकारी दिएको वासिङटन पोस्टले उल्लेख गरेको छ।
रोयटर्सका अनुसार ट्विटरले रसियाको इन्टरनेट रिसर्च एजेन्सीसँग जोडिएका हुनसक्ने २ हजार ७ सय ५२ संदिग्ध एकाउन्ट बन्द गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।