काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुसँग विद्वान पुर्खाका 'जेनेटिक मेमोरी' भएको दोहोर्याएका छन्।
मेडिसिटी अस्पतालमा आयोजित एक कार्यक्रममा उनले आदित्यको ज्ञानबारे विज्ञानले खोजी गर्नुपर्ने बताए। आदित्य दाहाल आफ्ना केही अनौठो क्षमताका कारण 'गुगल ब्वाइ' भनेर चिनिएका बालक हुन्।
'हाम्रा विद्वान पुर्खाका 'जेनेटिक मेमोरी' हामीसँग छ। दृष्टान्त आदित्य दाहाल हुन्। विज्ञानले खोजी गर्नु जरुरी छ। ज्ञान प्राप्तीका निम्ति त्यसको स्रोत आवश्यक छ। गुरु र अभ्यास आवश्यक छ। अभ्यास, गुरु र स्रोत बिनाका ज्ञान विज्ञानलाई चुनौतिलाई दिने कुरा हो। त्यसको जवाफ विज्ञानले खोज्नुपर्छ', प्रधानमन्त्रीले भने।
आदित्यले अनेक भाषामा लेख्न सक्नु अनौठो विषय भएको बताए। 'अहिले भर्खर हामीले सुन्यौं– आदित्यले नेपाली र अंग्रेजी दुई भाषामा लेख्नुभयो। जसले स्कुल देखेको छैन, कसैले पढाएको छैन, कहीँ पढाएको छैन', उनले भने, 'उनले सोधे– नपढीकन शारीरिक रुपमा अशक्त एउटा बालकले अनेक भाषा जान्दछ कसरी?'
उनले बिग ब्यांग थ्यौरी पत्ता लगाउन सजिलो भएको तर आदित्यको ज्ञानको स्रोत पत्ता लगाउन गाह्रो भएको बताए।
'हाम्रा विज्ञानका रिसर्चरले काल्पनिक कुरा गर्नु, बिग ब्यांग थ्यौरी, ब्ल्याक होल थ्यौरी जस्ता थ्यौरी पत्ता लगाउन सजिलो छ। तर आदित्यको ज्ञानको स्रोत पत्ता लगाउन अलि गाह्रो छ। म वैज्ञानिकहरुलाई आग्रह गर्न चाहन्छु– यो के हो, पत्ता लगाउनुहोस्', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।