काठमाडौं– काठमाडौंको बालाजु बाइपासमा बन्ने मिनी अभ्यास मैदानको मंगलबार शिलान्यास गरिएको छ। एसियन फुटबल महासंघले (एएफसी) को ३ लाख डलर (३ करोड ९ लाख रुपैयाँ) उपलब्ध गराएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले मिनी रंगशाला बनाउन सुरु गरेको हो।
बालाजुको मैदानलागि १ लाख डलर खर्च हुनेछ। मकवानपुर र नवलपारसीमा पनि मिनी अभ्यास मैदान बनाउने एन्फाको योजना छ। दुवै स्थानका लागि १–१ लाख डलर छुट्याइएको छ।
एन्फाका अनुसार मैदान जिल्ला फुटबल संघ र क्लबहरुका लागि अभ्यास गर्न उपलब्ध गराइनेछ।
बालाजुको मैदानको स्वामित्व एन्फाले न्युरोड टिमलाई दिएको छ। एन्फाले सबै जिल्ला र क्लबलाई स्वामित्व लिन आह्वान गरेकोमा संकटा क्लब र न्युरोड टिमले मात्र इच्छा देखाएको एन्फाका प्रवक्ता इन्द्रमान तुधलाधरले बताए।
बालाजुमा मैदान निर्माणका लागि सेक्रेट हर्ट माविको जग्गा भाडा लिइएको हो। रंगशाला १ वर्ष भित्र बनिसक्ने एन्फाले जनाएको छ। मैदानको लम्बाइ ४० मिटर र चौडाइ २० मिटरको हुनेछ। मैदानलाई चारैतिरबाट पर्खालले घेरिनेछ भने फ्लड लाइट पनि जडान गरिने योजना छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।